सुन्तलीले मनाईन मुसहरका बालबालिकासँग आफ्नो जन्मदिन - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सुन्तलीले मनाईन मुसहरका बालबालिकासँग आफ्नो जन्मदिन



बर्दिवास । “तपाईले हामीलाई बिर्सन पाउनु हुन्न” महोत्तरी जिल्लाको बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीकी १० वर्षीया अञ्जली सादाले सयपत्री फूलको माला हाँस्यकलाकार कुञ्जना घिमिरे (सुन्तली) लाई लगाउँदै भनिन् ।

कुञ्जना र उनका पति हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) ले आफूहरुका लागि पक्की घर बनाई दिएर विद्यालयमा नाम लेखाइ दिएको दुई वर्षअघिको कुरा सम्झँदै अञ्जलीले फेरि थपिन्–, “हामीलाई मान्छेजस्तो बाँच्न सिकाउने नै तपाईहरु हो, तपाईहरुले बिर्सिदिनु भए हामी टुहुरा हुन्छौँ ।” अञ्जलीमात्र नभई आरती, प्रियङ्का, निशा र आशासहितका १५० जना मुसहर बालबालिका शनिबार कुञ्जनालाई जन्मदिनको शुभकामना दिन तल्लिन हुँदै आफ्ना मनोभाव पोखिरहेका देखिए ।

बस्तीका मुसहर बालबालिकालाई धुर्मुस–सुन्तली आएको दिन ठूलै पर्व हुने गर्छ । शनिबार हाँस्यकलाकार कुञ्जना आफ्नो जन्मदिन मनाउन धुर्मुससहित बस्ती आएपछि यहाँका सबै बालबालिका फुरुंग छन् । कुञ्जनालाई आफ्नै करेसाबारीमा फुलेका सयपत्रीका माला गलामा, हरियो दुवो चुल्ठोमा सिउरी दिन, राता अक्षता निधारमा लगाइदिन मुसहर बालबालिका आतुर देखिन्थे ।

बालबालिकाको स्वागत ग्रहण गरेकी हाँस्यकलाकार कुञ्जनाले सबै स्कूले नानीलाई कापी, कलम, कोसेली दिइन् । “सबै प्रेमका बशिभूत हुँदारहेछन्” कुञ्जनाले बालबालिकालाई मिठाई खुवाउँदै भनिन्–, “तिमीहरुले दिएको मायाले नै मलाई तिमीहरुसँग बसेर जन्मदिन मनाउन यहाँ ल्यायो ।”

कुञ्जना जन्मदिन मनाउन बस्ती आएपछि बस्तीका सबैजसो घरमा आज घोङी (एकप्रकारको शंखेकिरा) को तरकारी पाकेको छ । “हाम्रो जलसा (उत्सव)मा घोङी विशेष कुरा हुन्छ” बस्तीकी अगुवा ६५ वर्षीया मानकी सादाले भनिन्, “हाम्रालागि धुर्मुस सुन्तलीभन्दा ठूला मान्छे अरु छन् भन्ने लाग्दैन, आज सबै घरको घोङी उहाँहरुले चाख्नुहुन्छ ।”

२०७२ सालको हिउँदमा बस्तीका ५० घर मुसहरलाई पक्कीघर बनाएर २०७३ साल वैशाख १ गते घर हस्तान्तरण गरेयता धुर्मुस–सुन्तली आफ्नो जन्मदिन मनाउन, मिथिला र मुसहर जातिका चाडपर्व विशेषमा भागलिन यहाँ आउने गरेका छन् ।

“हामी शुरुमा आउँदा यहाँका बासिन्दा मुण्टो फर्काएर हिँड्थे, साना नानीहरु सिंगानको लत्को झार्दै नाङ्गै कुद्थे” हाँस्यकलाकार धुर्मुसले दुई वर्षअघिको बस्ती सम्झँदै भने–, “अहिले यहाँका सबै बासिन्दा शिष्टाचारपूर्वक अतिथि सत्कार गर्छन्, यहाँका नानीहरु सफासुग्घर भएर स्कूल गएको देख्दा खुशी लाग्छ ।”