मेस्सी र रोनाल्डोको त्यो दु:खद समय
विश्व फुटबलको इतिहासमा यो दिनको सम्झना भइरहेने छ । सन् १९७० पछिका विश्वकपमा नकआउट चरणका खेलमा एकै दिन सबैभन्दा धेरै गोल भएको अनि विश्व फुटबलका दुई महानहस्तीहरुले गोल गर्न नसकेको दिन, शनिबार (सन् २०१८, जुन ३० अर्थात २०७५ असार १६ गते) । दुई खेलमा गरेर १० गोल भयो ।
यो सन् १९७० यता विश्वकपको नकआउट चरणका खेलमा एकै दिन भएको सबैभन्दा धेरै गोल हो ।
लियोनल मेस्सी र क्रिष्टियोनो रोनाल्डो सर्वकालीन दुई महान खेलाडी, जसले रुसमा जारी विश्वकप फुटबलमा आ–आफ्नो टिमको अन्तिम १६ को खेलमा गोल गर्न सकेनन् वा भनौँ प्रयास गर्दा गर्दै असफल भए । यसले सायद अब उनीहरुले आफूलाई खेलको सबैभन्दा ठूलो उपाधि, विश्वकप विजेता भनेर चिनाउन पाउने छैनन् ।
फ्रान्ससँग अर्जेन्टिनाको ४–३ तथा उरुग्वेसँग पोर्चुगलको २–१ को हारले उनीहरुका ३१ तथा ३३ वर्षे महान खेलाडीलाई अब विश्वकप विजेता भन्न नपाइने भयो भन्ने जानकारी दिलायो । उनीहरुको विश्वकप सपना अधुरो, अपूरो बन्यो ।
मेस्सी घर फर्किँदै गरेको हेर्नु दुःखदायी
शनिबार बेलुका रुसको कजानमा मेस्सीले जब कप्तानको आर्मब्याण्ड उतार्दै थिए, त्यो बेला उनी निराश र थकित देखिन्थे । उनले बारम्बार आकाश तिर ठूलो सास फालिरहेका थिए । उनी मैदान तर्फ एक नजर पनि फर्केर नहेरी टनेल हुँदै ड्रेसिङ्ग रुम तर्फ गए ।
उनले आफ्नो सबै दिए, दुई पटक गोलका लागि सहयोग गरे । उत्साह र भरपूर ड्रामाले भरिएको खेलमा उनको त्यो प्रयास काफी भएन ।
जर्मनीका विश्वकप विजेता जर्गेन क्लिन्सम्यानका अनुसार अर्जेन्टिनाले कहिले मेस्सीलाई भेट्नै सकेन । उनले विवाद र समस्याग्रस्त अवस्थामा देशको विश्वकप अभियान सम्हालेको उनको भनाई छ ।
उनले भने, ‘मेस्सी पहिलो हाफमा एक्लै भए । दोस्रो हाफमा उनले बल छुन निकै बेर पर्खिनु पर्यो ।’
बार्सिलोनमा जस्तो अर्जेन्टिनाको टिमबाट खेल्दा मेस्सीले साथी खेलाडीको साथ नपाएको देखिएको छ । फ्रान्ससँगको खेलमा मेस्सीले पेनाल्टी एरियामा मात्रै चार पटक बल छुन पाए र एक पटक मात्रै पोस्टमा सहि प्रहार गरे ।
यो अन्तर्राष्ट्रिय स्तरमा मेस्सीका लागि निराशाजन अनुभवको अर्को अध्याय बन्यो । उनले सन् २०१६ मा कोपा अमेरिकाको फाइनलमा पेनाल्टीमा चुकेपछि सन्यासको घोषणा गरेका थिए । तर पछि उनी सन्यास फिर्ता लिँदै मैदान फर्किए ।
स्पेनिस फुटबलका विशेषज्ञ गुइलेम बालागुएले भने, ‘मेस्सीमा निराशा थियो, सायद अहिलेसम्मकै उत्कृष्ट खेलाडी घर गएको हेर्नु निकै दुःखदायी बन्यो । मेस्सीले अब यो टिमबाट धेरै गर्न सकिँदैन भन्ने बुझेका छन् । आफूले मात्रै केही गर्न सक्दिन भन्ने पनि जानेका छन् । अर्जेन्टिनासँग मन मात्रै थियो, तर टिम अर्गनाइज भएन । तर उत्कृष्ट टिम फ्रान्स विजयी भयो ।’
यति हुँदा हुँदै पनि मेस्सीका लागि रुस विश्वकप धेरै अर्थले चर्चामा रहने खालको रह्यो । उनले पेनाल्टीमा गोल गर्न सकेनन्, आइसल्याण्डसँगको पहिलो खेलमा ।
यस्तै क्रोएसियासँग पराजित हुँदा उनी तनावमा देखिए । तेस्रो खेलमा उनले सुन्दर गोल गरे, नाइजेरिया विरुद्ध । अर्जेन्टिना अन्तिम १६ मा पुग्यो । उनले प्रशिक्षकलाई साइड लगाएर टिममा रणनीति निमार्ताको भूमिका खेलेको खबर पनि आयो ।
अन्तिम १६ बाट बाहिरिएपछि प्रशिक्षक जर्ज साम्पाओलीले भने, ‘मेस्सीलाई सहयोग गर्नका लागि सबै गर्ने प्रयास भयो । हामीसँग विश्वकै उत्कृष्ट खेलाडी थिए । हामीले एकीकृत प्रयास गर्यौँ ।’
तर उनीहरुको सबै प्रयास असफल भए ।
विश्वकपमा मेस्सी
मेस्सीले सन् २००६ यता विश्वकपको नकआउट चरणमा ७५६ मिनेट खेलेका छन् । तर उनले एक गोल पनि गर्न सकेनन् ।
नाइजेरियासँगको खेलमा उनको गोल विश्वकपमा ६६२ मिनेटपछि भएको गोल थियो । उनले विश्वकपमा ६ गोल गरेका छन् र तीन गोल त नाइजेरिया विरुद्ध ।
मेस्सीले सन् २०१४ को विश्वकपमा उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल पाएका थिए । त्यो बेला अर्जेन्टिना उपविजेता बनेको थियो ।
रोनाल्डोले अझै धेरै दिनु छ
रुस विश्वकपमा आफ्नो पहिलो खेलमा जसरी उनले फ्रि–किकमा उत्कृष्ट गोल गरेर ह्याट्रिक पूरा गरेका थिए, त्यो बेला लागेको थियो रोनाल्डो नै यो विश्वकपमा गोल्डेन बुटका दाबेदार हुन् । र सायद उनले बालोन डी’ओर पनि फेरि आफ्नो नाममा लेखाउने छन् ।
उनले आफ्नो उत्कृष्ट लय मोरक्कोसँगको जितमा पनि कायम गरे । तर इरानसँगको खेलमा पेनाल्टीमा चुके ।
र मेस्सी जस्तै अन्तिम १६ को खेलमा उरुग्वे विरुद्धको खेलमा टिमलाई हारबाट जोगाउन उनले खोज्दा खोज्दै पनि केही गर्न सकेनन् । एडिसन काभानीको दुई गोलमा उरुग्वे २–१ ले विजयी भयो र पोर्चुगल घर फर्किन बाध्य ।
दुई वर्षअघि युरोपियन च्याम्पियन बनेका रोनाल्डोका लागि अन्तर्राष्ट्रिय फुटबलमा यो नै अन्त्य हो त ? धेरैलाई यस्तै लागेको छ । तर पोर्चुगलका प्रशिक्षक फरनान्डो सान्तोसले भने रोनाल्डोले फुटबलमा अझै धेरै दिन बाँकी रहेको बताएका छन् ।
उनले भने, ‘कप्तान रोनाल्डोले अझै धेरै दिनु छ फुटबलका लागि । सेप्टेम्बरमा प्रतियोगिता हुँदैछ (युइएफए नेशन्स लिग) र हामीसँग रोनाल्डो हुनेछन् भन्ने आश छ । उनले खेलाडीलाई माथि उठ्न सहयोग पक्कै गर्ने छन् ।’
उनले अघि भने, ‘कप्तान त्यहाँ उपस्थित हुनु महत्वपूर्ण हुनेछ र उनी जहिले हामीसँग हुनेछन् ।’
विश्वकपमा रोनाल्डो
स्पेनसँगको खेलमा सीधै फ्रि–किक मार्फत गरेको गोल उनले पोर्चुगलका लागि मुख्य प्रतिस्पर्धामा सीधै फ्रि–किकबाट गरेको पहिलो गोल थियो र यो ४५ औँ प्रयासमा सफल भएको हो ।
रोनाल्डो मूख्य प्रतिस्पर्धामा पेनाल्टी प्रहार गरेका आधामा गोल गरेका छन् । उनले यसपटक स्पेन तथा सन् २००६ को विश्वकपमा इरानसँगको खेलमा पेनाल्टी प्रहार गरेका थिए ।
यस्तै उनले सन् २०१६ को युरोकपमा अस्ट्रियासँगको खेलमा तथा यसपटक इरानसँगको खेलमा पेनाल्टीमा गोल गर्न सकेनन् ।
रोनाल्डोले विश्वकप फुटबलको नकआउट चरणमा ५१४ मिनेट खेलेका छन् र एक गोल पनि गरेका छैनन् । सन् २००६ यताका चार विश्वकपमा रोनाल्डोले सात गोल गरेका छन् ।