इरानी मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

इरानी मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास



इरानका स्ट्राइकर सरदार अज्मोउनले २३ वर्षकै उमेर अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । रुसमा जारी विश्वकप फुटबलमा उनी इरानको टोलीमा थिए ।

इरान समूह चरणबाटै बाहिरिएको छ । इरान रहेको समूह बी बाट स्पेन र पोर्चुगल अन्तिम १६ मा पुगे भने इरानसँगै मोरक्को पनि बाहिरियो ।

विश्वकप फुटबलमा गरेको प्रदर्शनका कारण आफ्नो नचाहिने आलोचना भएको र त्यसले गर्दा आमा गम्भीर बिरामी परेकाले आफूले सन्यासको घोषणा गरेको उनले बताएका छन् ।

‘इरानी मेस्सी’ उपनाम पाएका अज्मोउनले विश्वकप अघि राष्ट्रिय टिमबाट ३३ खेलमा २३ गोल गरेका थिए ।

तर उनले रुसमा भएको विश्वकप फुटबलमा गोल गर्न सकेनन् । उनको टिम इरान समूह बी को तेस्रो स्थानमा रह्यो । अज्माउनले इरानबाट नखेल्ने निर्णय लिन निकै कठिन भएको बताएका छन् ।

उनले विश्वकप छनौट अन्तर्गत १४ खेलमा ११ गोल गरेका थिए । तर रुसमा समूह चरणमा मोरक्को, स्पेन र पोर्चुगलसँगको खेलमा पूरै समय उनले मैदानमा बिताएका थिए । तर गोल गर्न सकेनन् । इरानले मोरक्कोलाई हराएको थियो भने स्पेनसँग पराजित भएको र पोर्चुगलसँग बराबरी गरेको थियो ।

विश्वकपमा गोल गर्न नसकेको भनेर भइरहेको आफ्नो आलोचनाले आमा गम्भीर बिरामी भएको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘मेरी आमा गम्भीर बिरामीलाई जितेर सन्चो हुनुभएको छ र म निकै खुशी छु । तर दुर्भाग्यको कुरा केही मानिसको खराब आलोचनाका कारण उहाँको स्वास्थ्यमा समस्या आयो । म र मेरा साथी खेलाडीमाथिको नचाहिने आलोचना आमाले सहन सक्नु भएन ।’

उनले अघि भनेका छन्, ‘यसले मलाई निकै कठिन निर्णय लिन बाध्य बनायो । कि मैले आमा रोज्नु पर्ने थियो कि त राष्ट्रिय टिम, मैले मेरी आमा रोजेँ ।’

१९ वर्षको उमेरमा अज्मोउन इरानको राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पाँचौँ स्थानमा छन् ।

उनलाई राष्ट्रिय हिरो अली दाएइसँग दाँज्ने गरिएको थियो, जसले १४९ खेलमा १०९ गोल गरेका छन् । उनी राष्ट्रिय टिमबाट धेरै गोल गर्ने खेलाडी हुन् । अज्मोउन रुसको फुटबल क्लब मरुबिन कजानबाट खेल्दै आएका छन् ।