तथ्याङ्क सङ्कलन गर्न गएकी युवती मृत फेला
हिमाल जोशी /कैलाली
वडामा तथ्याङ्क सङ्कलनमा गएकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । कैलालीको गौरीगंगा नगरपालिकामा करारमा नियुक्त भएकी सोही नगरपालिका वडा नम्बर ११ की १८ वर्षीया माया विक शुक्रवार मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार असार १२ गते नगरपालिकाबाट तथ्याङ्क सङ्कलनका लागि गएकी विक शुक्रवार गौरीगंगाकै वडा नम्बर ११ स्थित श्रीपुर जङ्गलमा मृत अवस्थामा फेला परेकी हुन । विकले चलाएको साइकल पनि सोही ठाउँमा फेला परेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार मृतक विकका आफन्तले बिहीबार मात्र उनी हराएको खबर प्रहरीमा गरेका थिए । उनको शव पोस्टमार्टमका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याँईदै गरेको घिमिरेले जानकारी दिए । मृत्यु वा हत्या हो भन्ने बारेमा पोस्टमार्टम र अनुसन्धान पछि मात्र भन्न सकिने प्रहरी प्रमुख घिमिरेले बताए ।
मृतक विक गौरीगंगा नगरपालिकाको समावेशी विकास कार्यक्रम अन्तर्गत एक महिने करार सेवामा नियुक्त भएकी नगरपालिकाले जनाएको छ ।फाईल तस्बिर