कोलम्बियालाई जेम्स रोड्रिग्वेजको यस्तो चिन्ता
दक्षिण अमेरिकी देश कोलम्बिया रुसमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत सेनेगलसँगको महत्वपूर्ण अन्तिम खेलमा १–० को जित निकाल्दै कोलम्बियाले अन्तिम १६ मा समूह एच को विजेताको रुपमा स्थान पक्का गरेको हो ।
कोलम्बियाको जितमा ७४ औँ मिनेटमा यरी मिनाले हेड मार्फत गरेको गोल निर्णायक बन्यो । अब कोलम्बियाले क्वाटरफाइनल प्रवेशका लागि अन्तिम १६ मा समूह जी को उपविजेता इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
तर कोलम्बियाको टिममा ठूलो समस्या परेको छ । चार वर्षअघिको विश्वकपका सर्वाधिक गोलकर्ता जेम्स रोड्रिग्वेज चोटग्रस्त छन् । उनी सेनेगलसँगको खेलमा उनी ३० मिनेट मात्रै मैदानमा रहे ।
जापानसँगको पहिलो खेलमा उनी सुरुमा मैदानमा थिएनन् । २६ वर्षका रोड्रिग्वेजको पिँडौलामा समस्या रहेको छ । उनी आउँदो मंगलबार हुने अन्तिम १६ खेलका लागि फिट हुने नहुनेमा संका छ ।
कोलम्बियाका प्रशिक्षक जोसे पिकरम्यानले रोड्रिग्वेजको चोटका कारण आफू निकै चिन्तित रहेको बताएका छन् । उनले भने, ‘यो हाम्रा लागि सजिलो अवस्था होइन । अहिले नै उनी आउँदो खेलमा कहाँ हुने छन् भन्ने मैले भन्न सक्दिन ।’
रोड्रिग्वेजले दोस्रो खेलमा पोल्याण्डमाथि ३–० को जित निकाल्ने क्रममा निकै महत्वपूर्ण भूमिका खेलेका थिए । रोड्रिग्वेज प्रशिक्षणका बेला निकै फिट रहेको र चोटको कुनै असर देखिएको थिएन ।