सडकका घर आफैं हटाउने घरधनीलाई सम्मान गरिने - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

सडकका घर आफैं हटाउने घरधनीलाई सम्मान गरिने



धनगढी । कैलालीको धनगढी उप–महानगरपालीकाले सडक क्षेत्रमा पर्ने निजी स्वामित्वका घर आफैं भत्काउने घर धनीलाई प्रोत्साहनका साथै सम्मान गर्ने भएको छ ।

नगरक्षेत्र भित्रको सडक बिस्तारका क्रममा सडक क्षेत्रमा पर्ने घर तथा संरचना आफै हटाउने घरधनीलाई सम्मान गर्ने धनगढी उपमहानगरपालिकाले जनाएका छ ।

सडक बिस्तार तथा सुधारको कार्यलाई प्रभावकारी बनाउनका लागि यस्तो कार्यक्रम ल्याइएको उपमहानगरपालिकाले जनाएको छ ।

घरधनीका सम्मानका लागि आगामी आर्थिक बर्षको सुरुबाट नै यो कार्यक्रम लागु गरिने नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए । धनगढी उप–महानगरपालीका क्षेत्रमा अहिले सडक निर्माण तथा बिस्तारको काम चलिरहेको छ ।

यसअघि धनगढी अत्तरिया ६ लेन सडक बिस्तारका क्रममा घरधनीहरुले सडक क्षेत्रमा निर्माण भएका संरचना हटाउन नमान्दा निकै समस्या झेल्नु परेको थियो । केही घर धनीहरु काम रोकिपाउँ भन्दै अदालत सम्म पुगेका थिए भने आम नगरवासीले ६ लेन भन्दा घटाउन नहुने भन्दै बजार बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।

त्यसबेला अदालतले समेत घरधनीको विपक्षमा फैसला गरेको थियो । अदालतको फैसलालाई समेत अटेरी गर्नेहरुका संरचना नगरपालीकाले डोजर लगाएर भत्काएको थियो ।

‘नगरक्षेत्रमा थुप्रै सडक बिस्तार हुदै छन, सडक बिस्तारमा सहयोग पुर्‍याउने घरधनीलाई सम्मान गर्नुपर्छ भन्ने नगरपालिकाको मान्यता हो, नगर प्रमुख वडले भने, यसले सडक बिस्तार र सुधारमा समेत सकारात्मक प्रतिफल दिनेछ ।’

नगरपालिकाले सडक क्षेत्रमा पर्ने निजि स्वामित्वका भौतिक संरचनाहरुको केही भाग सडक बिस्तारका क्रममा सडक अधिकार क्षेत्र भित्र पर्न गएको खण्डमा स्वयम् घरधनीले भौतिक संरचनाहरु भत्काएमा उक्त घरधनीको घर नक्सापास शूल्क तथा एकीकृत सम्पत्तिकर समेत मिनाहा गर्ने वडले बताए ।

त्यस्तै यस्ता घरधनीको घरमा रंगरोगन गर्ने काम पनि नगरपालिकाले गर्ने र सहयोगी घरधनीलाई महत्वपूर्ण कार्यक्रम पारेर सम्मान समेत गरिने वडले जानकारी दिए ।

‘धनगढी उप–महानगरपालिकाले चक्रपथ निर्माण, नगरक्षेत्रका सडक निर्माण र बिस्तार गर्दा थुप्रै निजी संरचना सडक क्षेत्रमा पर्ने देखिन्छन् धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरिले भने, यसमा नगरवासीको सहयोगको खाँचो छ ।’