रोजोको खुलासा: अर्जेन्टिनालाई जिताउन मेस्सीले यस्तो भनेछन !
मेस्सीले के भनेका थिए र जित्यो अर्जेन्टिनाले ?
टिम निकै कठिन अवस्थामा रहेका बेला महत्वपूर्ण गोल गरेर अर्जेन्टिनालाई विश्वकप फुटबलको अन्तिम १६ मा पुर्याएका मार्कस रोजो अहिले सबैको चर्चा र प्रशंसाको पात्र छन् । तर उनले जितमा आफ्ना कप्तान लियोनल मेस्सीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
इजेरियासँगको खेलमा दोस्रो हाफमा मैदान छिर्नेबेला मेस्सीले खेलाडीलाई केही भनेका थिए । उनको त्यो भनाई नै आफूहरुको जितका लागि महत्वपूर्ण साबित भएको रोजोले बताएका छन् ।
नाइजेरियामाथिको जितमा प्रशिक्षक जर्ज साम्पाओलीको नभइ मेस्सीको रणनीति कारक रहेको रोजोले खुलासा गरेका हुन् ।
क्रोएसियासँग ३–० ले पराजित भएर टिम समूह चरणबाटै बाहिरिने खतरा आएपछि मेस्सीसहित जाभिएर मास्चेरानो र लुकास बिग्लियाले प्रशिक्षक साम्पाओलीलाई ठाउँ नदिइ आफूहरुले नै टिमको रणनीति बनाएका थिए नाइजेरियासँगको खेलका लागि ।
मंगलबार राति भएको नाइजेरियासँगको खेलमा साम्पाओली टचलाइनमा त उपस्थित थिए र टिमलाई केही निर्देशन दिइरहेका थिए ।
तर उनलाई कसैले सुनेको जस्तो देखिँदैनथ्यो । टिमका खेलाडीलाई मेस्सीले नै निर्देशन दिइरहेका थिए । खेलको १४ औँ मिनेटमा नै सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाएका मेस्सी मैदानमा अर्जेन्टाइनी टिमको कप्तान मात्रै नभएर प्रमुख पनि रहेको रोजोले बताए ।
मेस्सीले दोस्रो हाफमा मैदान छिर्नुअघि भनेको कुरा कोट्याउँदै रोजोले भने, ‘मेस्सीले हामी नजिक आएर तनाव नलिइ शान्त हुन आग्रह गरे । हामी नर्भस थियौँ । तर मेस्सीको त्यो भनाईले सहयोग गर्यो ।’
उनले अघि भने, ‘व्यक्तिगत रुपमा मलाई त झन त्यसले ठूलो राहत र आत्मविश्वस बढाउने काम गर्यो । मेस्सी हाम्रा कप्तान हुन् र उनी विश्वकपका उत्कृष्ट कप्तान पनि ।’
मेस्सीले टिमलाई आत्मसर्पण होइन अघि बढ्नका लागि उर्जा दिएको रोजोले बताए । मेस्सीले देशको इज्जत जोगाइ राख्नका लागि सबैलाई एक हुन र डटेर लाग्न प्रेरणा दिएको रोजोको भनाई छ ।
मेस्सीले खेललाई राम्रोसँग पढेको र त्यहि अनुसारको रणनीति बनाएकाले अत्यावश्यक अवस्थामा महत्वपूर्ण जित सफल भएको उनले बताए ।
रोजोले मेस्सीका बारेमा भने, ‘उनले वास्तवमै खेलको अवस्था बुझे र त्यसको चुनौती पनि । उनी नेतृत्वकर्ता हुन् । उनी उत्कृष्ट छन् ।’
रोजोले ८६ औँ मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले नाइजेरिया २–१ ले हराएर अन्तिम १६ मा स्थान पक्का गरेको हो ।