छनोटबाट बाहिरिए पछि जर्मनीका प्रशिक्षकको प्रतिक्रिया यस्तो
एजेन्सी । प्रशिक्षक जोचिम लोले जर्मन टिम विश्वकपमा समूह चरणबाट माथि जान योग्य नरहेको बताएका छन् । बुधबार बेलुका भएको खेलमा दक्षिण कोरियासँग दुई गोल खाएर हारेको जर्मनी विश्वकपमा समूह चरणबाटै बाहिरिएको हो ।
खेलपछि प्रशिक्षक लोले आफ्नो टिम बाहिरिनका लागि योग्य रहेको प्रतिक्रिया दिएका हुन् । विश्वविजेता जर्मनी सन् १९३८ अर्थात ८० वर्षपछि पहिलो पटक समूह चरणबाटै बाहिरिएको हो ।
लोले भने, ‘यो हामीलाई फेरि झकझक्याउनका लागि हो । यो ऐतिहासिक भयो । यसले जर्मनीमा सार्वजनिक रुपमा ठूलो हल्ला मच्चाउने पक्का छ ।’
मेक्सिकोलाई ३-० ले हराएको स्वीडेन जर्मनी रहेको समूह ‘एफ’ को विजेता तथा मेक्सिको उपविजेताको रुपमा अन्तिम १६ मा पुगेका छन् ।
लोले भने, ‘स्वीडेनले अग्रता लिएपछि हामीलाई प्रतियोगितामा रहनका लागि जित नै आवश्यक थियो । तर हाम्रो टिमले खेलको लय नै समात्न सकेन । यो खेलमा हाम्रो क्लासिक खेल देखिएन । त्यसैले हामी बाहिरिनका लागि नै योग्य थियौं ।’
लो सन् २००६ देखि जर्मनीको प्रशिक्षक छन् । उनले यो १२ वर्षको अवधिमा जर्मनीलाई यसअघिका विश्वकपमा कम्तीमा सेमिफाइनलसम्म लगेका थिए ।