विषालु रक्सीले जनकपुरमा ४ जनाको मृत्यु - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

विषालु रक्सीले जनकपुरमा ४ जनाको मृत्यु



धनुषाको पूर्वोत्तर कमला नगरपालिकामा विषाक्त रक्सी (घरेलु मदिरा) सेवन गर्दा बुधबार बिहान ४ जनाको मृत्यु भएको छ । आधा दर्जन बढी सिकिस्त छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कमला नगरपालिका–५, लक्करका ३७ वर्षीय मनिक पासवान, ५५ वर्षीय रामचन्द्र पासवान, ४० वर्षीय रामनाथ पासवान र कमला नगरपालिका–६, सिग्याही मडानका ४७ वर्षीय साविर मियाँ अन्सारीको मृत्यु भएको हो।

मनिक, रामनाथ र साविरको गाउँमै तथा रामचन्द्रको उपचारक्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो । मंगलबार साँझ अत्यधिक रक्सी सेवन गरेर घर फर्किएका उनीहरूको अवस्था रातिदेखि नै बिग्रन थालेको थियो।

सिकिस्त भएका कमला नगरपालिका–५, लक्करका ४० वर्षीय जामुन पासवानको जनकपुर अञ्चल अस्पतालमै उपचार जारी छ । विन्देश्वर पासवान र असलदेव पासवानको भने फिजिसियन डा.रामपरीक्षण यादवको जनकपुरस्थित क्लिनिकमा उपचार भइरहेको छ ।

कमला–६ का ४५ वर्षीय विनयकुमार ठाकुर र भारत मोतिहारी घर भएका कमला–६ मा घर बनाउने काम गर्दै आएका ३३ वर्षीय मनोज साहसहित आधा दर्जन सिकिस्त छन्।

कमला नदीको बाँधनजिक भट्टीमा रक्सी सेवन गरेका उनीहरूलाई रातिदेखि नै रिँगटा लाग्ने, बान्ता हुने, टाउको दुख्ने हुन थालेको खबर आजको कान्तिपुर दैनिकमा समाचार छ ।। बुधबार बिहानसम्म अचेत बनिसकेका उनीहरूलाई उपचारका लागि जनकपुर ल्याउने तयारी गर्दागर्दै तीन जनाको मृत्यु भएको कमला नगरपालिकाका मेयर रामउदगार गोइतले बताए । मेयर गोइतका अनुसार सिकिस्त भएका अन्यलाई बिहान ८ बजे उपचारका लागि जनकपुर पुर्‍याइएको थियो ।

‘हामी सबै जना सँगै बसेर रक्सी पिएका थियौं,’ जनकपुरमा उपचाररत असलदेव पासवानले भने, ‘हामी पुग्नुअघि नै भट्टीमा रक्सी खाइरहेकाहरूको ज्यान गएको छ । हामी पछि पुगेकाले थोरै मात्र खायौं ।’ पासवानले रक्सी भट्टी सञ्चालकको नाम बताउन चाहेनन् । उनले भने, ‘भट्टी चलाउनेले आफैं रक्सी उत्पादन गर्दैन । बाहिरबाट ल्याएर बेच्छ।’

इलाका प्रहरी कार्यालय खजुरीका इञ्चार्ज इन्स्पेक्टर शेषराज थानदारले विषाक्त रक्सी सेवन गर्दा चार जनाको ज्यान गएको बताए । ‘रक्सी पसलबाट बान्ताको स्याम्पल संकलन गरेको छु । शवको भिसेरा जाँच तथा स्याम्पल परीक्षणपछि घटनाको वास्तविकता थाहा हुन्छ,’ उनले भने।

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा।रामपरीक्षण यादवले विषाक्त रक्सी सेवनकै कारण उनीहरूको मृत्यु भएको जानकारी दिए । उनका अनुसार रक्सीको अर्को नाम इथाइल अल्कोहल हो । रक्सी निर्माण गर्ने बेला सामान्यतया इथाइल अल्कोहल बन्छ तर कहिलेकाहीँ गलत प्रतिक्रिया भएर मिथाइल अल्कोहल निर्माण हुन्छ । मिथाइल अल्कोहल विष हो । घरेलु मदिरा परीक्षणबिनै सीधै बिक्री–वितरण हुने गरेको छ।

मिथाइल अल्कोहल सेवन गर्नेलाई रिँगटा लाग्ने, बान्ता हुने र हृदयाघात वा लिभर फेल भएर मृत्युसमेत हुने गरेको डा।यादवले बताए । पूर्वी धनुषाको इनर्वा, कठाल, लक्कर, सबैला, रघुनाथपुरसँगै पूर्वपश्चिम राजमार्गवरिपरि खुलेआम अवैध घरेलु रक्सी उत्पादन तथा बिक्री–वितरण हुन्छ।

प्रहरी–प्रशासनसँगको मिलेमतो तथा राजनीतिक दलका नेताको संरक्षणमा मधेसमा घरेलु रक्सीको व्यापार बेरोकटोक भइरहेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा तीन साताअघि बसेको सुरक्षा बैठकले प्रदेश २ मा घरेलु रक्सीको उत्पादन, बिक्री–वितरण र सेवनमा रोक लगाउने निर्णय गरेको थियो । यद्यपि यहाँ घरेलु मदिरा उत्पादन र बिक्री–वितरण रोकिएको छैन।