चुनौतीको चाङमा ब्राजिल
ब्राजिलले रुसमा जारी विश्वकप फुटलबमा समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार बेलुका सर्बियासँग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा ब्राजिलले यसअघि कोस्टारिकासँगको खेलमा रहेकै प्लेइङ् इलाभेन र रणनीति लिने अपेक्षा ।
समूह चरणको आफ्नो दोस्रो खेलमा ब्राजिलले कोस्टारिकालाई २–० ले हराएको थियो । उसको जितमा फिलिप कोन्टिन्हो र नेइमारले इन्जुरी समयमा गोल गरेका थिए । पहिलो खेलमा भने ब्राजिल स्वीट्जरल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो ।
राति पौने १२ बजे हुने ब्राजिल र सर्बियाबिचको खेल स्पार्तक रंगशाला, मस्को तथा स्वीट्जरल्याण्ड र कोस्टारिकाबिचको खेल निज्हनी नोभगोरोड रंगशालामा हुनेछ ।
थाइमा देखिएको समस्याका कारण ब्राजिल डानिलो बिना मैदानमा उत्रनेछ । यस्तै डुग्लस कोस्टा पनि मैदानमा हुने छैनन् । ब्राजिल र सर्बिया दुवैमा समूह ई को विजेता बन्ने, उप–विजेता बन्ने वा समूह चरणबाटै बाहिरिने सम्भावना र खतरा दुवै छ ।
सर्बियाले पहिलो खेलमा कोस्टारिकालाई १–० ले हराएको थियो भने दोस्रो खेलमा स्वीट्जरल्याण्डसँग २–१ ले हारेको थियो ।
हेड–टू–हेड
युगोसलाभियासहित सर्बिया र ब्राजिलबिच विश्वकपमा यसअघि चार पटक भेट भएको छ । युगोसलाभियाबाट छुट्टिएर सर्बिया बनेको हो ।
यसअघिका चार भेटमा दुवै पक्षले एक एक खेल जितेका छन् भने दुई खेलमा बराबरी भएको छ ।
सर्बिया (युगोसलाभियासहित) र ब्राजिलबिच सबै गरेर १९ पटक भेट भएको छ । यसमा सर्बिया मात्रै दुईपटक विजयी भएको छ । १० खेलमा हारेको सर्बिया सात खेलमा बराबरीमा रोकिएको छ ।
सर्बिया स्वतन्त्र देश भएपछि ब्राजिलसँगको यो भेट दोस्रो हुनेछ । यसअघि सन् २०१४ को जुनमा भएको मैत्रीपूर्ण खेलमा स्वतन्त्र राष्ट्रका रुपमा सर्बियाले पहिलो पटक ब्राजिलको सामना गरेको थियो । त्यो बेला ब्राजिल १–० ले विजयी भएको थियो ।
सर्बिया
स्वतन्त्र राष्ट्रका रुपमा खेल्न लागेदेखि अहिलेसम्म गोल खाएका सबै ६ खेलमा सर्बिया पराजित भएको छ । यस्तै गोल नखाएका दुई खेलमा भने उ विजयी भएको छ ।
सर्बियाका अलेक्सान्डर मिट्रोभिकले सन् २०१८ मा क्लब र राष्ट्रिय टिमबाट गरी २६ खेलमा १८ गोल गरेका छन् ।
ब्राजिलसँगको खेलमा जित निकाल्न सकेमा स्वतन्त्र राष्ट्रका रुपमा सर्बिया पहिलो पटक विश्वकपमा समूह चरणबाट माथि जानेछ । यसअघि सन् १९९८ मा युगोसलाभियाको रुपमा अघिल्लो चरण पुगेको इतिहास छ ।
युगोसलाभियाका रुपमा विश्वकपमा पहिलो खेल जितेका चार विश्वकप मध्ये तीनमा अभिल्लो चरण पुगेको छ । यसरी पहिलो खेल जितेका विश्वकपमा युगोसलाभिया अघिल्लो चरण गएको सन् १९३०, १९५४ र १९९८ हो । पहिलो खेल जितेर पनि अघिल्लो चरण जान नसेकेको भनेको सन् १९५० मा मात्रै हो ।
यसपटक स्वतन्त्र राष्ट्रका रुपमा सर्बियाले विश्वकपमा पहिलो खेल जितेको पहिलो पटक हो । रुस विश्वकपको आफ्नो पहिलो खेलमा सर्बियाले कोस्टारिकालाई १–० ले हराएको हो ।
ब्राजिल
सबै गरेर पछिल्ला १३ खेलमा ब्राजिल अपराजित छ । ९ खेलमा जित निकालेको ब्राजिल चार खेलमा बराबरीमा रोकिएको छ । यसक्रममा उसले मात्रै तीन गोल खाएको छ ।
विश्वकपमा युरोपेली विपक्षीसँगको खेलमा भने ब्राजिलको नतिजा त्यति राम्रो छैन । विश्वकपमा युरोपेली देशसँग भएका यसअघिका सात खेलमा मात्रै एक खेलमा ब्राजिल विजयी भएको छ । दुई खेल बराबरी भएको छ भने चार खेलमा उसले हार बेहोरेको छ । उसले जितेको भनेको सन् २०१४ मा क्रोएसियासँगको खेलमा हो । त्यो बेला ब्राजिल ३–१ ले विजयी भएको थियो ।
ब्राजिलका फिलिप कोन्टिन्होले राष्ट्रिय टिमबाट पछिल्ला तीन खेलमा लगातार गोल गरेका छन् । यस्तै नेइमार पछिल्ला १७ खेलमा १८ गोलका लागि माध्यम बनेका छन् । उनले १० गोल गरेका छन् भने ८ गोलका लागि सहयोग गरेका छन् ।
नेइमारले ब्राजिलका लागि ८७ खेलमा ५६ गोल गरेका छन् । उनी भन्दा अघि ६२ गोल गरेका रोनाल्डो र ७७ गोल गरेका पेले छन् ।