नेइमारको स्तर खस्केको छ: टिटे - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

नेइमारको स्तर खस्केको छ: टिटे



ब्राजिलका प्रशिक्षक टिटेले पूरै टिमको जिम्मेवारी नेइमारको काँधमा राख्न नहुने बताएका छन् । २६ वर्षका नेइमार विश्वकपअघि मात्रै चोटबाट मुक्त भएर मैदान फर्किएका हुन् ।

उनी खुट्टामा लागेको चोटका कारण विश्वकपअघि तीन महिना मैदान बाहिर थिए । विश्वकपका महंगा फुटबलर नेइमारले रुसमा जारी विश्वकपमा ब्राजिलको टिमबाट दुई खेल खेलिसकेका छन् ।

स्वीट्जरल्याण्ड र कोस्टारिकासँगको खेलमा नेइमारको प्रदर्शनलाई लिएर आलोचना भइरहेका बेला प्रशिक्षक टिटेको यस्तो भनाई आएको हो ।

‘उनी विशेष क्षमता भएका खेलाडी हुन्, तर उनी अहिले आफ्नो सामान्य स्तर भन्दा बाहिर छन्’ प्रशिक्षक टिटेले भने, ‘उनी यसरी खेल्ने खेलाडी होइनन्, तर उनी अहिले भर्खर रिकभरीको अवस्थामा छन् ।’

पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १–१ को बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा कोस्टारिकालाई २–० ले हरायो । यो जितमा दुवै गोल इन्जुरी समयमा भयो । पहिलो गोल फिलिप कोन्टिन्होले गरे भने केही सेकेण्ड बाँकी हुँदा नेइमारले दोस्रो गोल गरेका थिए ।

पछिल्ला दुई खेल हेर्दा नेइमारको प्रदर्शन र अवस्था सुधार हुँदै आएको देखिएको टिटेले बताएका छन् । ब्राजिलले बुधबार राति समूह चरणको अन्तिम खेलमा सर्बियासँग प्रतिस्पर्धा गर्नेछ ।

यो खेलमा नेइमार उनको उत्कृष्टमा लयमा देख्न सकिने सम्भावना रहेको टिटेले बताएका छन् । तर उनीमाथि नै पूरै देशको जिम्मेवारी लाद्न भने नमिल्ने प्रशिक्षक टिटेले बताए ।