सिके राउतको पक्षमा नलाग्न आहवान - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सिके राउतको पक्षमा नलाग्न आहवान



विसाल नेपाल निर्माणको अभियान लिएर हिँडेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सीके राउतको पक्षमा नलाग्न राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरुलाई चेतावनी दिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीले पृथकतावादीलाई कार्यकक्षमै भेटेको र पृथकतावादीको अपराध ढाकछोप गर्नेगरी उनीहरुको मानव अधिकारको रक्षा गर्नुपर्ने भनेर जुन तर्क गरेका छन् । त्यो हास्यास्पद भएकाले राष्ट्रिय अखण्डताको विरुद्ध लाग्नेको पक्षमा आफ्नो शक्ति र प्रभाव प्रयोग नगर्न ग्रेटर नेपालले आयोगका अध्यक्षलाई चेतावनी दिएको हो ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको २ सदस्यीय प्रतिनिधिमण्डलले आज विहान ११ बजे करिब ४५ मिनेट यो विषय उठाउँदै आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेको छ । भेटका अवसरमा मोर्चाका अध्यक्ष नेपालले आयोगका अध्यक्ष शर्मा र सदस्य मोहना अन्सारीले नेपाल टुक्र्याउने घोषित अभियान लिएर हिँडिरहेको सीके राउतलाई बोलाएर भेट्नु घोर आपत्तिजनक बताएपछि आयोगका अध्यक्ष शर्माले सीके राउतले राज्यले उनका श्रीमती र उनका छोराछोरीलाई दुःख दिएको भन्दै यस विषयमा ज्ञापन पत्र बुझाउने भनेपछि निजबाट ज्ञापन पत्र मात्र बुझेको बताएका थिए ।

आयोगका सदस्य मोहना अन्सारीले पृथकतावादी राउतको संरक्षण गरेको मात्र होइन, निश्चित क्षेत्र, जातविशेष र हिन्दी भाषाको पक्षमा वकालत गरी पृथकतावादलाई प्रश्रय दिनु आपत्तिजनक भएकाले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले यो मुद्दालाई चर्काएर लैजाने बताएपछि आयोगका सचिव वेदप्रसाद भट्टराईले राउतको ज्ञापनपत्रको व्यहोरा झुठो भएको भन्दै उनको परिवारलाई राज्यले सताएको नभएर उल्टै राउतले आफू विरुद्ध ज्यादती गरेको भन्दै निजकी श्रीमतीले राउतविरुद्ध आयोगमा उजुरी दिएको बताएका छन् ।

राज्यबाट सुविधा लिएर राज्यविरुद्ध नै लाग्ने राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीविरुद्ध ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आयोग र सरकारसमक्ष उजुरी गरी विरोधका कार्यक्रम सञ्चालन गर्ने भनी मोर्चाका अध्यक्ष नेपालले आयोगका अध्यक्ष शर्मासमक्ष स्पष्ट गरेपछि यी विषयमा छलफल गर्न आपूm सधैँ तयार रहेको बताएका छन् ।

यस्तै ग्रेटर नेपाल युवा मोर्चाका संयोजक पुरूषोत्तम भट्टराईले आफ्नो पक्षका कर्मचारीको हकहित मात्र स्थापित हुनेगरी पटक–पटक कर्मचारी नियमावली संशोधन गरेर अन्य कर्मचारीको मनोबल गिराएको प्रश्न उठाएपछि सचिव भट्टराईले यस विषयको जानकारी सूचना अधिकारीबाट लिन भन्दै पन्छिएका थिए ।