छानबिन समितिले निकाल्यो निष्कर्ष, भेटिएन साढे ३३ किलो सुन
काठमाडौं । सुन तस्करीबारे छानविन गरिरहेको उच्चस्तरीय समितिले आफ्नो निष्कर्ष प्रस्तुत गरेको छ । तर ! अझै पनि हराएको भनिएको साढे ३३ किलो सुन भने भेटिएको छैन । त्यस्तै तस्करीमा रहेको राजनैतिक सम्बन्धको पनि केही प्रमाण प्राप्त भएको छैन ।
तस्करीको साढे ३३ किलो सुन हराएपछि चुणमणि उप्रेती ’गोरे’ को समूहले यातना दिने क्रममा सनम शाक्यको हत्या भएपछि यसबारे प्रहरीले अनुसन्धान थालेको थियो । तस्करीमा प्रहरी अधिकारी पनि संलग्न रहेको शंकास्पद देखिएपछि गृह मन्त्रालयले छानविन समिति गठन गरेको थियो । सोही समिती गठन पछि सुन तस्करी पछाडिको ठूलो सत्य पर्दाफास भएको हो ।
गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले पछिल्ला ४ वर्ष भित्रमा झन्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकालेर मुद्दा चलाएको हो । तस्करीमा प्रहरीका उच्च अधिकारीहरु पनि छन् । जिल्ला अदालतमा मुद्दा चलिरहेको बेला पनि अभियुक्तहरु पक्राउ पर्ने क्रम अझै रोकिएको छैन ।
प्रमुख अभियुक्त चुडामणि उप्रेती उर्फ गोरे र चर्चित हुन्डी कारोबारी र व्यवसायी विमल पोद्दारलाई पक्राउ गर्नुलाई समितिको सफलताको रुपमा हेरिएको छ । स्रोतको जानकारी अनुसार सुन तस्करीमाथि जारी अनुसन्धान ८० प्रतिशत सकिएको छ।
फाइल तस्विर