ओलीको भ्रमण विशेष उपलब्धिमूलक: चिन - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

ओलीको भ्रमण विशेष उपलब्धिमूलक: चिन



बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको चीन भ्रमण विशेष उपलब्धिमूलक भएको चीनले जनाएको छ।

प्रधानमन्त्री ओली र उनका समकक्षी लिखछ्याङबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र दुई देशबीच भएका महत्वपूर्ण सम्झौतापछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका सहायकमन्त्री कोङ सुयन युले सो कुरा बताएका हुन्।

सम्झौता सकिएसँगै ग्रेट हल अफ द पिपुल्समा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘प्रधानमन्त्री ओलीको भ्रमण विशेष उपलब्धिमूलक भयो।’ सहायकमन्त्री कोङले राजनीतिक स्थायित्वपछि नेपालको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न चीनले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेको बताए।

दुइ देशबीच भएका महत्वपूर्ण सम्झौतापछि पत्रकार सम्मेलनमा बोल्दै चीनको परराष्ट्र मन्त्रालयका सहायक मन्त्री कोङ सुयन यु

प्रधानमन्त्रीका रुपमा ओलीको दोस्रो पटकको यस भ्रमणमा १४ विषयमा सहकार्य गर्ने सहमति भएको जानकारी दिँदै उनले नेपालले पनि एक चीन तथा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए।

नेपालले चीनबाट उच्चस्तरको भ्रमणको इच्छा व्यक्त गरेको र जवाफमा चिनियाँ पक्षले सकारात्मक जवाफ दिएको उनको भनाइ छ।

सहायकमन्त्री कोङले हिमाली अन्तरदेशीय सम्पर्कलाई विस्तार गर्दै लैजाने विषयमा दुवै देशका नेताहरु सहमत भएको तथा स्वतन्त्र व्यापार सम्झौताका विषयमा सम्भाव्यता अध्ययन गर्ने र नेपालका सातै प्रदेशमा आर्थिक विकास गर्ने विषयमा विचारविमर्श भएको जानकारी दिए। रासस