राष्ट्रकवि घिमिरे अस्पतालबाट फिर्ता - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

राष्ट्रकवि घिमिरे अस्पतालबाट फिर्ता



काठमाडौं,। राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको छ ।

भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएपछि पूर्णतया स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको उहाँका छोरा इन्दीवरले जानकारी दिनुभयो । राष्ट्रकवि घिमिरे बिहीबार अस्पतालबाट डिस्चार्ज हुनु भएको हो ।

“उहाँको सानो आन्द्राबाट भएको रक्तश्राव रोकिनुको साथै निमोनिया पनि पूर्णरुपमा निको भएको छ”–उहाँले भन्नुभयो, “चिकित्सकको सल्लाहमा पुनः एक हप्तापछि उहाँको स्वास्थ्य परीक्षण गर्ने तय भएकाले अहिले नेपाल नआई दिल्लीमा नै बस्नु भएको छ ।”

उहाँका अनुसार राष्ट्रकवि घिमिरे अहिले भारतस्थित नेपाली राजदूतावासमा बस्नु भएको छ । मेदान्त अस्पतालबाट उपचार गराएर आउनुभएका राष्ट्रकवि घिमिरेको पुनः सानो आन्द्राबाट रक्तस्राव हुन थालेपछि पुनः गत जेठ २१ गते उहाँ मेदान्त अस्पताल भर्ना हुनुभएको थियो । यसअघि उहाँलाई जेठ ९ देखि १९ गतेसम्म मेदान्त अस्पतालमै उपचार गराइएको थियो ।

उहाँको चिकित्सक डा रणवीर सुदको टोलीले उपचार गरेको थियो । राष्ट्रकवि घिमिरे गत वैशाख २८ गतेदेखि सानो आन्द्राबाट निरन्तर रक्तस्राव भएपछि अस्वस्थ हुनु भएको थियो । शुरुमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउनु भएको घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि भारत लगिएको हो ।