प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्रको जिल्ला स्तरिय अभिमुखिकरण सम्पन्न - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्रको जिल्ला स्तरिय अभिमुखिकरण सम्पन्न



विशाल पाण्डेय/सुखड ।

कैलालीको घोडाघोडि नगरपालिका -१ सुखडमाप्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र ,नेपालको जिल्ला स्तरिय अभिमुखिकरण शनिवार सम्पन्न भएको छ ।

कैलाली जिल्लाभरका स्थानीय तहका प्रमुख , उप प्रमुख र प्रमुख प्रसासकिय अधिकृतहरूको सहभागितामा भएको अभिमुखिकरणमा सामुदायिक मेलमिलाप अभियानलाई वडा तह सम्म सञ्चालन गर्नका लागि स्थानीय तहहरूले कार्यक्रम तथा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

घोडाघोडि नगरपालिका प्रमुख ममता प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि कैलाली जिल्ला समन्वय समितिका संयोजक सूर्य बहादुर थापा रहेका थिए । प्रमुख अतिथिको आसन बाट बोल्दै कैलाली जिल्ला समन्वय समितिका संयोजक सूर्य बहादुर थापाले दिगो शान्ति नभएसम्म दिगो विकास सम्भव नहुने भन्दै मेलमिलापका माध्यम बाट गरिने विवाद समाधानले दिगो विकासका लागि सहयोग पुर्‍याउने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि धनगढी उपमहानगरपालिकाका प्रमुख नृप ओडले संस्थाले गरेको अभिमुखिकरण बाट स्थानीय तहले आफ्ना निकायमा मेलमिलाप तथा देश समृद्धिका लागि थाल्नु पर्ने अभियानका बारेमा उत्साह बढाएको बताए ।

त्यस्तै कार्यक्रममा धारणा राख्दै विभिन्न स्थानीय तहका प्रतिनिधिहरूले संस्था सङ्ग समन्वय गर्न सकिने पक्षहरूमा सहकार्य गरेर जाने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रममा धनगढी उप महापालिकाका कार्यकारी अधिकृत सन्त बहादुर सुनार, गोदावरी नगरपालिकाका उपमेयर रत्न कुमारी कडायत ,धनगढी उपमहानगरपलिका उपमेयर सुशीला मिश्र भट्ट,गौरीगङ्गा नगरपालिका उपमेयर अन्चला चौधरी ,घोडाघोडि नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा, टिकिपुर नगरपालिकाका उप प्रमुख केसरी विष्ट लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम संस्थाले गर्ने कार्यहरूका बारे जानकारी दिँदै प्राकृतिक श्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक चुप बहादुर थापाले यो संस्था २०७० सालदेखि १९ जिल्लामा कार्यरत रहेको र समाजमा दिगो शान्तिका लागि यो संस्थाले विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको बताए । हाल सम्म ५ हजार स्थानीय विवादहरू समाधानका लागि कार्य गरेको समेत उनले जानकारी दिए ।

संस्थाका पश्चिम संयोजक अर्जुन कार्कीको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रममा संस्थाका कैलाली जिल्ला संयोजक बल्लु चौधरीले जिल्लाभर विगतमा सञ्चालन भएका कार्यक्रमका उपलब्धि र आगामी हुने कार्यक्रमका बारे प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहजिकरण सहजकर्ता बन्धु प्रसाद चौधरीले गरेका थिए ।