विश्वकप: फ्रान्सविरुद्ध यस्तो रणनीति बनायो अस्ट्रेलियाले - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

विश्वकप: फ्रान्सविरुद्ध यस्तो रणनीति बनायो अस्ट्रेलियाले



जारी विश्वकपमा सर्वाधिक सन्तुलित टिमको छवि बनाएको फ्रान्सले शनिबार विश्वकप फुटबल अन्तर्गत समूह ‘सी’ को आफनो पहिलो खेलमा अस्ट्रेलियाको सामना गर्दैछ। विश्वचर्चित स्टारहरु रहेको फ्रान्समा प्रशिक्षक डिडियर डेसच्याम्पसले युवा स्टारहरुलाई नै सुरुवातमा मैदानमा उतार्नेछन्।

फ्रान्सबाट रेकर्डेड करिअर बनाएका ओलिभर जिराउड भने बेन्चमा रहने सम्भावना छ।डेसच्याम्पले कालियन माब्बाप्पे,ओस्मान डेम्बेले र एन्टोनि ग्रिजम्यानलाई याट्याकिङको जिम्मेवारी दिने सम्भावना बढी छ। अस्ट्रेलियाविरुद्ध उत्रिँदै गर्दा स्वाभाविक रूपमा फ्रान्स बलियो मानिएको छ। युवा स्टारले भरिएको फ्रान्सले पछिल्ला ६ खेलमा एक मात्र हार व्यहोरेको छ भने तीन खेलमा जित निकालेको छ। तर प्रतियोगिता अघिको अमेरिकाविरुद्धको मैत्रिपूर्ण खेलमा भने फ्रान्स १–१ गोलमा रोकिएको थियो।

फ्रान्स गत मार्चमा कोलम्बियासँग पराजित भएयता रसिया, आयरल्यान्ड र इटालीलाई पराजित गर्न सफल भएको छ। अस्ट्रेलियाको पनि जितको रेकर्ड खराब नभए पनि औसत टिमसँगको प्रदर्शन भएकाले फ्रान्सविरुद्ध जित्नका लागि भने उसलाई सहज हुने छैन।

नर्वे र जापानसँग हारेको उसले कोलम्बियालाई बराबरीमा रोकेको थियो। तर हंगेरी चेक रिपब्लिक र थाइल्यान्डलाई भने पराजित गर्न सफल भएको छ। फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले अस्ट्रेलियाबारे फ्रान्स धेरै जानकार नरहेको बताएका छन्। २०१३ मा अस्ट्रेलिया विरुद्धको मैत्रिपूर्ण खेलको समयमा ६–० को जित निकाले पनि समय धेरै परिर्वतन भएको भन्दै अस्ट्रेलियाको रणनीती आफूहरुका लागि नौलो हुने बताए।

उनले भने ‘स्वभाविक रूपमा छनोटमा राम्रो प्रदर्शन गरेर अस्ट्रेलिया विश्वकपमा आएको हो। साथै उसले ठूला टिमहरुलाई पनि दबाब दिएको हुँदा फ्रान्स आफ्नो पुरा शक्ति लगाएर खेल्छ। हामी कसैलाई पनि कमजोर सम्झिँदैनौँ।’ प्रशिक्षक वर्ट भान मार्विकले अस्ट्रेलियाले फुटबलमा आफूलाई धेरै सुधार गरेको भन्दै फ्रान्सविरुद्ध टिम जितका लागि मैदानमा उत्रिने बताएका छन्।

नेदरल्यान्डका अस्ट्रेलियन प्रशिक्षक मार्विकले आफ्नो टिमप्रति शतप्रतिशत विश्वास रहेको बताए। उनले भने ‘हामीले डराउनु पर्ने कुनै कारण छैन। सबै पक्ष जिम्मेवार भएर जितका लागि उत्रिनु पर्छ।’