छाउगोठमा सर्पले डसेर १८ वर्षीया किशोरीको मृत्यु - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

छाउगोठमा सर्पले डसेर १८ वर्षीया किशोरीको मृत्यु



काठमाडाैं । अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको छ ।

छाउगोठमा सुतेकी उनको दायाँ हातको औलामा सर्पले डसेको हो। पार्वती घरबाट तल बेंसीको छाउगोठमा महिनावारी बार्न बसेकी थिइन। साथी राधिका बुढासंगै गोठमा सुतिरहेको बेला छाना माथि रहेको सर्प पार्वतीको शरीरमा खसेको र औलामा टोकेको राधिकाले जानकारी दिइन्। परिवारका अन्य सदस्य गाउँको घरमा रहेकोले ढिलो गरी मात्र खबर बाहिर आउँदा उपचारको अभावमा उनको ज्यान गएको हो।

पार्वतीले यसैवर्ष विश्वज्योती माविबाट एसइइ दिएकी थिइन्। उनीसंगै रहेकी दिदी प्रेमकला बुढाका अनुसार पार्वतीको महिनावारी शनिबार चार दिन भएको थियो। तुर्माखाँद–४ का वडाअध्यक्ष कविराम बुढाले भने पार्वती छाउगोठमा नभई भाइबहिनीसंग सुतेको बताए।

छानामा सुतेका बेला सर्पले टोकेको भन्ने मात्र खबर आफू कहाँ आएको बुढाले बताए। तुर्माखाँद गाउँपालिकाकी उपप्रमुख अमृता बुढाले आफू काठमाडौं रहेको र यो घटनाबारे आफूलाई धेरै जानकारी नभएको बताइन्। अाजकाे कान्तिपुरबाट ।