यी हुन् विश्वकपका सबैभन्दा पाका र कान्छा खेलाडी - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

यी हुन् विश्वकपका सबैभन्दा पाका र कान्छा खेलाडी



फूटबललाई विश्वकै रोमाञ्चक खेलमध्ये एक मानिन्छ । ९० मिनेटको समयमा एउटा बलको पछाडि २२ जना कुद्ने यो खेललाई केहीले पट्यारलाग्दो पनि मान्लान् । विविध रङरूप, कद र उमेरका खेलाडीलाई देख्न पाइन्छ यो खेलमा । कयौंपटक खेलिसकेका खेलाडीले यही प्रतियोगिताबाट सन्न्यास लिएका हामीले देखेका छौं । कयौं नयाँ प्रतिभाले यहाँ आफ्नो प्रतिभा देखाउने अवसर पाइरहेका छन् । यसपटक ३२ टीमका ७ सय ३६ खेलाडीहरू रूसका १२ ओटा स्टेडियममा उत्रिँदै छन् ४० दिनका लागि । यी खेलाडीमध्ये सबैभन्दा पाको र सबैभन्दा कान्छा को होलान् ? यिनीहरूबीचको उमेर अन्तर कति होला ? तपाईं अनुमान गर्न सक्नुहुन्छ ?

२१औं संस्करणको विश्वकपमा सबैभन्दा पाका खेलाडी हुन् इजिप्टका क्याप्टेन तथा गोलरक्षक इसाम अल–हेदरी । उनी अहिले ४५ वर्ष ४ महीनाका भए । अर्कोतर्फ सबैभन्दा कान्छा खेलाडी हुन् फ्रान्सका केलियन एमबाप्पे । उनको उमेर १९ वर्ष ६ महीनामात्र छ ।

अल–हेदरीको जन्म सन् १९७३ को जनवरी १५ मा भएको थियो । उनीसँग २२ वर्षभन्दा लामो समय विश्वकपमा खेलेको अनुभव छ । एमबाप्पे सन् १९९८ को डिसेम्बर २० मा जन्मिएका थिए । यसको अर्थ हेदरी र एमबाप्पेबीच २५ वर्ष ३ सय ४९ दिन अर्थात् करीब २६ वर्षको उमेर अन्तर छ ।

अल–हेदरी विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी बन्दै छन् । अहिलेसम्म उनले १ सय ५७ क्याप प्राप्त गरेका छन् ।
यसअघि कोलम्बियाका फेयर्ड मोण्ड्रागनले ४३ वर्ष ३ दिनको उमेरमा विश्वकप खेलेर सबैभन्दा पाका खेलाडी बनेका थिए । क्यामरुनका रोजर मिल्ला, उत्तरी आयरल्याण्डका पाट जेनिङ्स, बेलायतका पिटर शिल्टन र इटलीका डिनो जोफ पनि विश्वकपका सबैभन्दा पाका पाँच खेलाडीभित्र पर्छन् । आफ्नो जीवनको अन्तिम विश्वकप खेल्दा यिनीहरूको उमेर क्रमशः ४२ अर्ब १ महीना ८ दिन, ४१ वर्ष, ४० वर्ष ९ महीना १९ दिन र ४० वर्ष ४ महीना १३ दिन थियो ।

तर, एमबाप्पे विश्वकप खेल्ने अहिलेसम्मकै कान्छा खेलाडी भने होइनन् । विश्वकपका अहिलेसम्मकै कान्छा खेलाडी हुन् उत्तरी आयरल्याण्डका नोमर्न ह्वाइटसाइड । १७ वर्ष १ महीना १० दिनको उमेरमा ह्वाइटसाइडले स्पेनको जारागोजास्थित ला रमारेडा स्टेडियममा सन् १९८२ को जुन १७ मा युगोस्लाभियाविरुद्ध खेल खेलेका थिए । सबैभन्दा कान्छा खेलाडीको शीर्ष पाँचमा ह्वाइटसाइडबाहेक क्यामरुनका स्यामुअल इटो’ओ, नाइजेरियाका फेमी ओपाबुन्मि, क्यामरुनकै सालोमोन ओलेम्बे, र ब्राजिलका पेले छन् ।

विश्वकप खेल्दा यिनीहरूको उमेर क्रमशः १७ वर्ष ३ महीना ७ दिन, १७ वर्ष ३ महीना ९ दिन, १७ वर्ष ६ महीना ३ दिन र १७ वर्ष ७ महीना २३ दिनमात्र थियो । एमबाप्पेलाई विश्व फूटबलमै सर्वाधिक प्रतिभाशाली खेलाडीका रूपमा मानिएको छ । हालैमात्र पेरिस सेण्ट जर्मनमा सर्वाधिक राशि २२ करोड ४० लाख डलरमा अनुबन्धन भएर उनी विश्वका सबैभन्दा महँगा युवा खेलाडी बनेका थिए ।अभियानबाट

प्रस्तुति : रमा सुवेदी