नेपाललाई हिन्दुराज्य घोषणा गर्न सरकार समक्ष माग - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

नेपाललाई हिन्दुराज्य घोषणा गर्न सरकार समक्ष माग



काठमाडौं। विश्व हिन्दु महासंघ नेपाल अन्तर्राष्ट्रिय समिति, विश्व हिन्दु यूवा संघ अन्तर्राष्ट्रिय समिति, भगवती मानव कल्याण समिति नेपाल, जय शिवशक्ति सेवा समाज र हिन्दु प्रतिष्ठान नेपाल लगायत संघ/संस्थाले नेपाललाई हिन्दुराज्य घोषणा गर्न सरकारसमक्ष माग गरेका छन् ।

रिपोर्टर्स क्बल नेपालमा आज उनीहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर केही राजनीतिक दलहरु र नेताको व्यक्तिगत स्वार्थको कारण नेपाललाई धर्मनिरपेक्षता घोषणा गरिएको भन्दै तत्काल धर्मसापेक्ष राष्ट्र बनाउनुपर्ने माग गरेका हुन ।

भगवती मानव कल्याण समाजका अध्यक्ष रामेश्वर थापाले ३३ कोटी देवताको देशलाई केही राजनीतिक दलहरुको स्वार्थका कारण धर्मनिरपेक्षता घोषणा गरेकोमा कडा आपत्ति जनाए ।

उनले भने,‘नेपाल हिन्दुहरुको देश हो, सनातन हिन्दुराष्ट्र पुर्नस्थापना गर्नको लागि जनमतसंग्रह गर्नुपर्छ, त्यसको लागि सरकार तयार रहनुपर्छ, सबैको मनमा हिन्दुराष्ट्र नै कायम हुनुपर्छ भन्ने छ तर बाहिर भन्न सकिरहेको स्थिति छैन् ।’

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ओखलढुङगा स्थायी घर भई हाल संयुक्तराज्य अमेरिका बस्दै आएका राधा घलेलाई सम्मान गरिएको थियो ।

अमेरिकामा बसेरपनि हिन्दुराष्ट्र र मुलुकको विकासको लागि खेलेको उच्च भूमिकालाई सम्मान गर्दैै घलेलाई आज सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा सम्मानित घलले निश्चित् नेताहरुको स्वार्थका कारण नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिएको आरोप लगाए ।

उनले भने,‘संविधानमै धर्मनिरपेक्षता घोषणा गरिसकिएको छ, कसैलाई गाली गर्नुहुँदैन, सबै धर्मलाई सम्मान गर्नुपर्छ, कुरा यत्ति हो ८० प्रतिशतभन्दा बढि हिन्दुहरु भएको देशलाई धर्मनिरपेक्षता घोषणा गर्नु उचित होईन ।’

कार्यक्रममा अनन्त विभुषित सनातन हिन्दू धर्म शिरोमणि स्वामी रामबाबा लगायतले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै आफ्ना कुराहरु राखेका थिए ।