रेलमार्ग अध्ययनको तयारीमा रहेका आयोजना - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

रेलमार्ग अध्ययनको तयारीमा रहेका आयोजना



नयाँ पत्रीका : काठमाडौं ।

काठमाडौं–रक्सौल रेलमार्ग
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा रक्सौल–काठमाडौं जोड्ने रेलमार्ग निर्माणबारे सहमति भयो । सर्वेक्षण बाँकी रहे पनि यो रेलमार्ग ११० देखि १२० किलोमिटर लामो हुने अनुमान छ । रेल विभागले सम्भाव्यता अध्ययनका लागि कोरियन कम्पनीसमेत छनोट गरिसकेको थियो । तर, भारतसँगको सहमतिपछि प्रक्रिया रोकिएको छ ।

‘अहिले भारतीय अध्ययन टोलीलाई पर्खेर बसेको अवस्था छ,’ रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले भने । रेलमार्ग निर्माण अघि बढाउन भारत सरकारले एक वर्षभित्र प्रारम्भिक सर्वेक्षण सकेर लगत्तै दुई पक्षबीच लगानीको ‘मोडालिटी’ र कार्यान्वयनलाई अन्तिम रूप दिने तयारी छ ।

नागढुंगा–धुलिखेल मेट्रोरेल
लगानी बोर्डको कार्यालयले नागढुंगा–धुलिखेल मेट्रोरेल मार्गको विस्तृत सम्भाव्यता अध्ययन १५ महिनाभित्र सम्पन्न गर्ने भएको छ । ३७ किलोमिटर लम्बाइ अनुमान गरिएको उक्त मार्गको अध्ययन गर्न कम्पनी छनोट प्रक्रिया थालिएको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले बताए ।

नागढुंगा–कलंकी–कोटेश्वर हुँदै धुलिखेल (अनुमानित) रुट रहने उक्त मेट्रोरेल मार्गको आसयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट) जारी गरिएको छ । आसय व्यक्त गर्ने कम्पनीमध्ये योग्यता पूरा गरेकाको सर्टलिस्ट गरिनेछ । अध्ययन गर्ने कम्पनीसँग सम्झौता गरेको १५ महिनामा अध्ययन प्रतिवेदन बोर्डलाई बुझाउने गरी तयारी भइरहेको प्रवक्ता वाग्लेले बताए । यसअनुसार तयारी र अध्ययन पूरा गर्न करिब १८ महिना लाग्नेछ ।नयाँ पत्रीकामा खबर छ ।