यस्ता छन अर्जेन्टिनाका प्रतिद्वन्द्वी - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

यस्ता छन अर्जेन्टिनाका प्रतिद्वन्द्वी



ब्युनेस एयर्स- प्रतियोगिताकै नवप्रवेशी आइसल्यान्डसँग जुन १६ तारिखमा खेल्दै दुई पटकको पुर्व विजेता तथा साविक उपविजेता अर्जेन्टिनाले यसपटकको विश्वकप यात्रा सुरु गर्दै छ।

समूह ‘डी’मा रहेको अर्जेन्टिनाले त्यसपछि क्रोएसिया र नाइजेरियासँग खेल्ने छ। समूहको विजेता र उपविजेता नकआउट चरण पुग्ने भएकाले दुई जितले अगाडी बढ्ने सम्भावना बलियो बन्ने छ। अर्जेन्टिना हाल फिफा वरियतामा पाँचौं स्थानमा छ।

अर्जेन्टिनाले पछिल्लो एक वर्षमा खेलेका ११ अन्तर्राष्ट्रिय खेलमा ६ जित, तीन बराबरी र दुई हारको नतिजा निकालेको छ। यीमध्ये पछिल्ला चार खेलमा मात्र दुई जित र दुई हारको नतिजा छन्। मंगलबार राती मैत्रिपुर्ण खेलमा हैटीलाई ४-० गोलले हराउनु अघि अर्जेन्टिना स्पेनसँग भएको मैत्रिपुर्ण खेलमा ६-१ गोलले पराजित भएको थियो। गत नोभेम्बरमा तुलानात्मकरुपमा कमजोर प्रतिद्धन्द्धी नाइजेरियासँग ४-२ गोलले हराएको अर्जेन्टिनाले त्यसपछि भएको खेलमा इटालीलाई २-० गोलले हराएको थियो।

आईसल्यान्ड विश्वकप खेल्ने अहिलेसम्मकै सबैभन्दा सानो देश हो। तर दुई वर्ष अघि भएको युरोकपमा क्वाटरफाइनलसम्म पुगेर उसले विश्वका ‘मै हुँ’ भन्ने देशहरुलाई सचेत गराएको छ।

उक्त प्रतियोगिता आईसल्यान्डको पहिलो प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता (यूरो कप, विश्वकप) थियो। आईसल्यान्ड गत मार्चमा भएका दुई वटा मैत्रिपुर्ण खेलमा पेरुसँग ३-१ र मेक्सिकोसँग ३-० गोलले पराजित भएको थियो। पछिल्लो एक वर्षमा खेलेका ११ अन्तर्राष्ट्रिय खेलमा आईसल्यान्डले ६ जित, एक बराबरी र चार हारको नतिजा निकालेको छ। आईसल्यान्ड हाल फिफा वरियतामा २२ औं स्थानमा छ।

आईसल्यान्डमा पनि अनुभवी खेलाडीको बाहुल्यता छ। टोलीका रहेका मिडफिल्डर जिल्फी सिगर्सन ठुला नाम हुन्। इङ्लिस क्लब एभर्टनका २८ वर्षीय यी खेलाडीले राष्ट्रिय टोलीका लागि ५५ खेल खेल्दै १८ गोल गरेका छन्।

अर्जेन्टिना र आइसल्यान्डबीच हालसम्म प्रतिस्पर्धा भएको छैन। अर्जेन्टिनाले जुन २१ तारिखमा क्रोएसियाको सामना गर्ने छ। क्रोएसियाले पछिल्लो एक वर्षमा खेलमा नौ खेलमा चार जित, दुई बराबरी र तीन हारको नतिजा निकालेको छ। सन् १९९८ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको क्रोएसिया त्यसपछिका दुई संस्करणमा समूहगत चरणबाटै बाहिरिएको थियो भने सन् २०१० को विश्वकपमा छनोट समेत हुन सकेको थिएन।

सन् २०१४ को विश्वकपमा समूहगत चरणबाटै बाहिरिएको थियो। सन् १९९४ पछि युगोस्लाभियाबाट छुट्टिएर स्वतन्त्र देश भएको क्रोएसियाले चार पटक विश्वकप खेलेको छ। हाल फिफा वरियतामा १७ औ‌ं स्थानमा छ। उसले सन् २०१६ को यूरो कपमा प्रिक्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो। क्रोएसियामा यूरोपका ठुला क्लबहरुमा खेलेका खेलाडीको प्रभाव छ।

लिभरपुलका रक्षक डेजान लोभ्रेन, बार्सिलोनाका मिडफिल्डर इभान राकेटिच, रियल म्याड्रिडका मिडफिल्डरद्धय लुका मोड्रिच र माटेओ कोभासिच, युभेन्ट्सका स्ट्राइकर मारियो मान्जुकिच टोलीका चर्चित अनुहार हुन्। एसि मिलानबाट खेलिरहेका स्ट्राइकर निकोला कालोनिच, युभेन्ट्सका स्ट्राइकर मार्को प्याका र इन्टर्नाजनलका इभान पेरिसिच पनि चलेका नाम हुन्। यद्धपी क्रोएसियाले अन्तिम टोलीका घोषणा भने गरिसकेको छैन।

अर्जेन्टिना र क्रोएसियाबीच हालसम्म तीन पटक प्रतिस्पर्धा भएको छ जसमा अर्जेन्टिनाले दुई जित र एक हारको नतिजा निकालेको छ। अन्तिमपटक यी दुई टोलीबीच सन् २०१४ को नोभेम्बरमा मैत्रिपुर्ण खेलमा प्रतिस्पर्धा भएको थियो जसमा अर्जेन्टिना २-१ गोलले विजयी भएको थियो। सन् २००६ मा भएको मैत्रिपुर्ण खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-२ गोलले हराएको थियो।

अर्जेन्टिनाले जुन २६ तारिखमा नाइजेरियाको सामना गर्ने छ। नाइजेरियाको पछिल्लो प्रदर्शन राम्रो छैन। उसले खेलेका पछिल्ला पाँच खेलमा एक जित, एक बराबरी र तीन हारको नतिजा निकालेको छ। उसले पछिल्लो एक वर्षमा २५ वटा खेल खेलेको छ जसमा १३ जित, ६ बराबरी र ६ हारको नतिजा निकालेको छ। हाल फिफा वरियतामा ४७ औं स्थानमा छ।

सन् १९९४ मा पहिलो पटक विश्वकप खेलेको नाइजेरियाले त्यसयता सन् २००६ विश्वकपमात्र छनोट हुन सकेन। गत विश्वकपमा उसले प्रिक्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो। सन् २०१३ मा महादेशीय प्रतियोगिता अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको नाइजेरिया त्यसपछिका दुई संस्करणमा भने छनोट समेत हुन सकेको थिएन।

चेल्सीका मिडफिल्डर भिक्टर मोजेस, लेस्टर सिटीका स्ट्राइकर केलेची इहेनाचो, आर्सनलका स्ट्राइकर एलेक्स इवबी, सीएसकेए मस्कोका मिडफिल्डर अहमद मुसा र मिडफिल्डर तथा कप्तान जोन ओबी मिकेल टोलीका चर्चित अनुहार हुन्।

नाइजेरियाको पनि अन्तिम टोलीको टुंगो लाग्न बाँकी छ। अन्तर्राष्ट्रिय सिनियर फुटबलमा नाइजेरिया र अर्जेन्टिनाबीच हालसम्म नौ पटक प्रतिस्पर्धा भएको छ। यसमा अर्जेन्टिनाले पाँच पटक र नाइजेरियाले तीन पटक जित हात पारेको छ। एक खेल भने बराबरी भएको छ। यी दुई टोलीबीच भएका भिडन्तमा कसैले पनि लगातार डोमिनेट गरेको इतिहास छैन।

समूह ‘डी’को विजेताले समूह ‘सी’को उपविजेता र समूह ‘डी’को उपविजेताले समूह ‘सी’को विजेतासँग प्रतिस्पर्धा गर्ने छ। समूह ‘सी’मा अस्ट्रेलिया, डेनमार्क , फ्रान्स र पेरु छन्। ती खेलका विजेताले समूह ‘ए’ र समूह ‘बी’ का विजेता र उपविजेताबीच हुने खेलका विजेतासँग प्रतिस्पर्धा गर्नेछन्। समूह ‘ए’मा इजिप्ट, रुस , साउदी अरब र उरुग्वे तथा समूह ‘बी’मा इरान, मोरक्को, पोर्चुगल र स्पेन छन्। यसको मतलब अर्जेन्टिना अगाडि बढ्दै गए ब्राजिल, जर्मनी, इङ्ल्यान्ड, बेल्जियम, कोलम्बियासँग सेमिफाइनलमा मात्र प्रतिस्पर्धा गर्न सक्ने छ। त्यसअघि समूह ‘डी’ र समूह ‘सी’ को विजेता र उपविजेता को बन्छ भन्ने पनि महत्वपुर्ण हुने छ।