यसरी खेल्दैछन सलाह विश्वकप
मोहम्मद सालह विश्वकप फुटबलका केही खेलका लागि फिट हुने देखिएको इजिप्टले जनाएको छ । लिभरपुलका फरवार्डस सालह रियल मड्रिडसँगको च्याम्पियन्स लिग फाइनलको क्रममा चोटग्रस्त भएका थिए ।
उनको आर्मसमा चोट लागेको छ । युक्रेनको राजधानी किएभमा गएको शनिबार राति भएको फाइनलको २६ औँ मिनेटमा रियल मड्रिडका कप्तान सर्जिओ रामोससँगको ट्याकलको क्रममा सालह चोटग्रस्त भएका थिए ।
उनी चोटग्रस्त भएपछि पनि खेल्ने प्रयास गरेका थिए तर नसकेपछि रुँदै मैदानबाट बाहिरिएका थिए । अहिले विश्वकपको तयारी गरिरहेको सालहको टिम इजिप्टले उनी विश्वकपका सबै खेलका लागि तयार नभए पनि केही खेलका लागि भने फिट हुने देखिएको बताएको छ ।
इजिप्टको राष्ट्रिय टिमका डाक्टरले सालहलाई भेटेका छन् । र इजिप्टको फुटबल एसोसिएसनले भनेको छ, ‘सालह बढीमा तीन हप्ता मैदान बाहिर हुनेछन् ।’
यसको अर्थ उनी सुरुका खेलमा नभए पनि इजिप्टका केही खेलमा उपलब्ध हुनेछन् । रुसमा विश्वकप फुटबल सुरु हुन १४ दिन बाँकी छ । विश्वकपका लागि समूह ए मा रहेको इजिप्टले पहिलो खेलमा जुन १५ मा उरुग्वेसँग प्रतिस्पर्धा गर्ने छ ।
यो समूहमा साउदी अरेयिबा, रुस र उरुग्वे पनि छन् । सालहले भर्खरै सकिएको सिजनमा लिभरपुलका लागि सबै प्रतियोगितामा गरेर ४४ गोल गरेका छन् ।