धर्मगुरु आचार्य श्रीनिवास जेल चलान - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

धर्मगुरु आचार्य श्रीनिवास जेल चलान



विराटनगर । आफैंमाथि गोली हान्न लगाएको अभियोग लागेका धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासमा भएको बहसपछि उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।

श्रीनिवासलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ क बमोजिम पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

आदेशसँगै कडा सुरक्षाकाबीच श्रीनिवासाचार्यलाई जिल्ला प्रशासन कार्यालय मोरङ परिसरबाट निकालिएको थियो । आदेशपछि झुम्का कारागार लगिएकाे छ ।

जिप्रका मोरङको इजालसमा भएको थुनछेक बहसमा धर्मगुरु श्रीनिवासको पक्षबाट अधिवक्ता उद्धबचन्द्र घिमिरेले प्रतिरक्षा गर्दै बहस गरेका थिए भने प्रशासनले भने इनक्वारी बयान लिएको थियो ।

धार्मिक हिंसा भड्काउने उद्देश्यले आफैले आफैलाई गोली हान्न लगाएको आरोपमा श्रीनिवासलाई प्रहरीले वैशाख २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

प्रहरीले धर्मगुरुलाई वैशाख २५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले हेर्ने सो मुद्दाको फैसला भएमा १ वर्ष कैद, १ लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

बाराको सिमरा ३ घर भइ सुनसरीको चक्रघट्टीस्थित लक्ष्मी बैंकटेशको आश्रममा बस्ने आचार्य विराटनगर १४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका थिए ।

आचार्यमाथि चैत २५ गते बिहान १ः ४५ बजे शौचालय जान निस्केको अवस्थामा गोली प्रहार भएको थियो । उनलाई उनकै सुरक्षा गार्डले गोली प्रहार गरेका थिए । उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौं गएका थिए ।

गोली हान्ने पनि जेल चलान

यसैबीच श्रीनिवासको निर्देशनमा उनीमाथि गोली हान्ने उनकै अगंरक्षक चितवन भरतपुर ४ का २९ वर्षीय रोशन भन्ने माधब चौधरी र पेस्तोल उपलब्ध गराउने नवलपरासी गैडाकोट ५ का ३२ वर्षीय सन्तोष भन्ने लक्ष्मीराज अधिकारी पनि पूर्पक्षको लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश नवराज दाहालको इजलासले बुधबार नै चौधरी र अधिकारीलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

आदेशपछि उनीहरुलाई प्रहरीले जिल्ला कारागार मोरङ लगेको छ । उनीहरुलाई मुलुकी ऐन अदालती बन्दोवस्तीको ११८ को दफा २ बमोजिम पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङले जनाएको छ ।

अदालतसमक्ष उनीहरुले बयान दिएपछि थुनछेक बहस भएको थियो । चौधरी र अधिकारीलाई मोरङ प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो ।अनालाईन खबरबाट