बालकृष्ण ढुंगेलको रिहाइमा कांग्रेसको कडा आपत्ति
काठमाडौं। प्रतिपक्षी दल नेपाली कांग्रेसले कारागारमा रहेका बालकृष्ण ढुंगेलको कैद माफी–मिनाहाको निर्णय फिर्ता लिन संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएको छ ।
संघीय संसदको मंगलबारको बैठक प्रारम्भमै कांग्रेसका सबै सांसदहरु आफ्नो आशनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले सांसद गगन थापालाई बोल्न समय दिएका थिए ।
सांसद थापाले ढुंगेल व्यक्ति हत्याका आरोपमा सर्वोच्च अदालतबाट फैसला भइ थुनामा परेका हुनाले सो मुद्दालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगको दायरामा ल्याएर हेर्न नमिल्ने जिकिर गरे ।
थापाले भने–‘सरकारले ढुंगेलको चालचलन सुध्रिएको भनेर विगतमा राजाले माफी दिएझैं वर्तमान प्रधानमन्त्रीलाई त्यो सुविधा छैन । यस्तो निर्णय फिर्ता लिनुपर्छ ।’
तत्पश्चात् बैठक चालू भइ अर्थमन्त्रीले बजेट प्रस्तुत् गरेका थिए ।
तत्कालीन नेकपा माओवादी केन्द्रका पूर्वसांसद ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि उनी मंगलबारै डिल्लीबजार कारागरबाट रिहा भएका थिए । रासस