ढुंगेललाई रिहा गर्न राष्ट्रपतिको स्वीकृति
काठमाडौँः बालकृष्ण ढुंगेललाई रिहा गर्ने फाइल राष्ट्रपतिले स्वीकृत गरेकी छन् । जनयुद्धको मुद्धामा जेल गएका ढुंगेललाई सरकारले गणतन्त्र दिवसमा रिहा गर्ने तयारी गरेको हो ।
राष्ट्रपतिको कार्यालयले गृहमन्त्रालयलार्इ पत्र पठाएपछि ढुंगेल गणतन्त्र दिवसका दिन रिहा हुन लागेका हुन् ।
सर्वोच्च अदालतले द्वन्द्वकालिन घटनासम्बन्धी एक मुद्दामा जेलमा चलान भएका पूर्वसभासद बालकृष्ण ढुंगेलको सजाय माफी दिने विषयको सक्कल फाइल पेश गर्न सरकारलाई आदेश दिएकै दिन राष्ट्रपतिले ढुंगेलको रिहार्इका लागि स्वीकृति दिएकी छन् ।
सशस्त्र द्वन्द्वका बेला २०५५ सालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा ढुंगेललाई जिल्ला अदालत ओखलढुंगाले २०६१ सालमै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
त्यसपछि पक्राउ परेर कैद सजाय भुक्तान गरिरहेका बेला पुनरावेदन अदालतले फैसला उल्ट्याइदिएपछि उनी रिहा भएका थिए । त्यसपछि तत्कालिन माओवादीकातर्फबाट २०६४ सालको पहिलो संविधानसभा सदस्यमा उनी ओखलढुंगाबाट निर्वाचितसमेत भएका थिए ।