फेरी बाझियो लाउडा काण्ड ! - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

फेरी बाझियो लाउडा काण्ड !



भ्रष्टाचारको प्रमाणलाई हेर्ने दृष्टिकोणमा मतैक्य हुन नसक्दा नेपालको बहुचर्चित भ्रष्टाचार प्रकरण सर्वोच्च अदालतको पूर्ण इजलासमा पेस भएको छ । लाउडा विमान भाडामा लिँदा भएको भ्रष्टाचार प्रकरणमा सर्वोच्चको संयुक्त इजलासमा दुई न्यायाधीशबीच राय बाझिएको छ ।

३८ करोड ९७ लाख ६७ हजार ३१ रुपैयाँको भ्रष्टाचार मुद्दामा सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरेले सबै आरोपितले सफाइ पाउने भनी विशेष अदालतले गरेको फैसला सदर हुनुपर्ने राय दिएका थिए। तर न्यायाधीश ईश्वर खतिवडाले भने तत्कालीन शाही नेपाल वायुसेवा निगमका अध्यक्ष हरिभक्त श्रेष्ठ र सञ्चालक समिति सदस्य तीर्थमान श्रेष्ठ दोषी देखिएकाले उनीहरूलाई कैद र जरिवाना हुनुपर्ने राय दिएका थिए।

उनले हरिभक्तलाई दुई वर्षसहित एक वर्ष थप गरी तीन वर्ष कैद र ५० हजार जरिवाना तथा तीर्थमानलाई एक वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको राय दिएका थिए। श्रेष्ठद्वयबाहेक अन्य सात प्रतिवादीले सफाइ पाउने विषयमा भने दुवै न्यायाधीशको मत मिलेको देखिन्छ। लाउडा प्रकरणमा मुछिएका सबै आरोपीलाई विशेष अदालतले भने सफाइ दिएको थियो। दुई आरोपीको हकमा न्यायाधीशहरूको राय फरक पर्नुको कारण भने लाउडा विमान भाडा प्रकरणमा भएको अनियमिततालाई हेर्ने दृष्टिकोण र प्रमाणको व्याख्या नै हो। यो मुद्दा अब ३ सदस्यीय इजलासमा पेस हुनेछ। कान्तिपुर दैनिकबाट ।