नेयमारको स्वास्थ्यमा आश्चर्यजनक सुधार !
रियो (एजेन्सी) – ब्राजिलियन सुपरस्टार फरवार्ड नेयमारको चोटबाट पुनरागमन आशा गरेभन्दा राम्रो भइरहेको ब्राजिलका फिटनेस प्रशिक्षक फाबिओ मासेरेडिजानले जनाएका छन् । मंगलबारदेखि पूर्ण प्रशिक्षणमा सहभागी भएका नेयमारले सोचेभन्दा राम्रो प्रदर्शन गरिरहेको उनले बताए ।
खुट्टामा चोट बोकेका कारण फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका लागि सिजनको पछिल्लो भाग नखेलेका नेयमारले विश्वकप टोलीमा स्थान बनाउने बारे पनि प्रश्न उठेको थियो । तर उनले विशेष शल्यक्रिया गरेपछि विश्राम लिएर पुनरागमन गर्ने अवस्थामा पुगेका हुन् । उनले विश्वकप अघिका दुई मैत्रीपूर्ण खेलमा पनि सहभागिता जनाउने सम्भावना बढेको छ ।
प्रशिक्षक फाबिओका अनुसार उनको प्रशिक्षणमा कुनै किसिमको खतरा देखिएको छैन । ‘नेयमारले निकै राम्रो प्रशिक्षण गरिरहेका छन् । उनको बल कन्ट्रोल, छलाउने देखि कुद्ने सबै पक्षमा सुधार देखिएको छ । विश्वकप मात्र नभएर उनले मैत्रीपूर्ण खेलमा पनि पूर्ण फिटमा खेल्ने छन्’, उनले सुनाए ।
ब्राजिलले समूहको पहिलो खेलमा जुन १७ मा स्विटजरल्याण्डको सामना गर्दैछ । उक्त समूहमा कोस्टारिका र सर्बिया पनि रहेका छन् । नेयमारको अनुपस्थितिमा विलियन वा फिर्मिनोले पहिलो रोजाइमा स्थान बनाउने सम्भावना छ ।