वैदेशिक रोजगारीमा ठगी बिरुद्ध सरकार कडा: ४८ पक्राउ ! - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

वैदेशिक रोजगारीमा ठगी बिरुद्ध सरकार कडा: ४८ पक्राउ !



काठमाडौँ- प्रहरीले मलेसिया जाने कामदारका लागि तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५ संस्थाका ४८ व्यक्तिलाई पक्राउ गरेको छ ।

स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन् ।

पक्राउपर्नेमा काममा जाने नेपालीसँग करोडौँ रुपैयाँ असुल गर्ने भीएलएन र वानस्टप सेन्टरका संचालक राम श्रेष्ठलगायत ४८ जना रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले गृह मन्त्रालयको आदेशानुसार उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

पक्राउपर्नेमा कसमस मेडिकल सेन्टर गौशाला, एभरेष्ट हेल्थ होम सर्भिस प्रालि मध्यबानेश्वर, केआर मेडिकल सेन्टर वसुन्धरा, लालुपाते मेडिकल सेन्टर गौशाला, मन्जुश्री मेडिकल सेन्टर, भ्याली पोलिक्लिनिक गोँगबु, प्रशान्ति हेल्थ केयर सेन्टर जावलाखेल, सुब्बा प्याथोलोजी कुपण्डोल, सुधा पोलिक्निक र सनराइज पोलिक्लिनिक महाराजगञ्जका सञ्चालक रहेका छन् ।

यस्तै अनमोल मेडिकल सेन्टर सिनामंगल, स्वर्णीम मेडिकल सेन्टर सुन्धारा, वेलकेयर हस्पिटल रातोपुल, कुलेश्वर पोलिक्लिनिक कुलेश्वर, लालुपाते पोलिक्लिनिक पिंगलास्थानलगायत मेडिकल सेन्टरका सञ्चालक तथा कामदार रहेका छन् ।

प्रहरीले उनीहरुसँग भएका ल्यापटप र कागजातसमेत बरामद गरको छ ।

मन्त्रालयले बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गरिसकेको छ ।

मलेसिया जाने कामदारहरुलाई आर्थिक भार परिरहेको भन्दै श्रम मन्त्री गोकर्ण विष्टले बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गर्ने निर्णय गरेका थिए ।

मलेसिया जान भिसा शुल्क जम्मा ७ सय लाग्नेमा अनलाइन प्रोसेस भन्दै भिएलएन नामक संस्थाबाट ३२ सय र कर असुल गरिँदै आएको थियो ।