गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगारमा सिन्डिकेट लगाउने ४८ व्यवसायी पक्राउ - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगारमा सिन्डिकेट लगाउने ४८ व्यवसायी पक्राउ



काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनमा प्रहरीले आइतबार काठमाडौँका विभिन्न ठाउँबाट वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारहरूको स्वास्थ्य परीक्षण तथा भिसा प्रोसेसिङका नाममा सिन्डिकेट कायम गरी ठगी गर्ने  ४८ जनालाई पक्राउ गरेको छ ।

ज्ञानेश्वरस्थित वान स्टप सेन्टर(ओएससी)का सञ्चालक रामप्रसाद श्रेष्ठ तथा गैरीधारास्थित मञ्जुश्री मेडिकलका सञ्चालक मिनी तिवारी लगायतलाई ४८ जनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको जनाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहन थापाका अनुसार ठगी गर्ने अन्य मेडिकल सञ्चालकहरूको पनि खोजी भइरहेको छ। डिआईजीको नेतृत्वको टोलीले विभिन्न कम्पनीहरूमा छापा हानी व्यवसायीहरूलाई पक्राउ गराएको हो।

मेडिकल र भिसाका नाममा सिन्डिकेट कायम गरी थप रकम असुल्दै आएका यस्ता सबै व्यवसायीलाई नछोडिने मन्त्रालय श्रोतले जनाएको छ ।

उनीहरूले हरेक कामदारबाट भिसा प्रक्रियाका नाममा प्रति कामदार ६ हजार रुपैयाँ भन्दा धेरै रकम ठग्दै आइरहेका थिए । मलेसिया जाने कामदार २९ वटा मेडिकलले मात्र स्वास्थ्य परीक्षण गर्न पाउने सिन्डिकेट खडा गरिएको थियो। २९ वटै मेडिकल सञ्चालकहरुविरुद्ध कारबाहीको तयारी भइरहेको छ। श्रम मन्त्री गोकर्ण विष्टले केही दिनअघि मात्र बायोमेट्रिक प्रणाली खारेज गरेका थिए। ठगी गर्नेहरुलाई कारबाही गर्ने समेत बताएका थिए।