गगनले भने: राणा, राजा र माओवादीको बन्दुकसँग लडेका कांग्रेस एकतासंग डराउँदैनन्

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन कुमार थापाले राणा, राजा र माओवादीको बन्दुकसँग लडेको काँग्रेस एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पाटी बन्दा नआत्तिने बताएका छन् ।
नेपाली काँग्रेस सैनामैना नगर समिति रुपन्देहीको दोस्रो नगर सभाको शनिवार रुपन्देहीको सैनामैना स्थित मुर्गियामा उद्घाटन गर्दै नेता थापाले नेपाली काँग्रेसलाई जनताले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न जनमत दिएकाले सोही अनुसारको भूमिका खेल्ने बताएका छन् ।अबको पाँच वर्षसम्म संविधान कार्यान्वयनको मुख्य जिम्मेवारी पूरा गर्दै जिम्मेवार प्रतिपक्षको रूपमा रहने उल्लेख गरे ।
नेता थापाले नेपाली काँग्रेसले सरकारका राम्रा कामको स्वागत गर्ने, विकासका मुद्दामा सरकारसँगै सहकार्य गर्ने तर सरकार गलत कामतर्फ अघि बढे विरोध गर्ने उल्लेख गर्दै सरकारमा त्यस प्रकारको दम्भ देखिन सक्ने सङ्केत मिलेको बताए ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य तथा काँग्रेसका नेता दुर्गाप्रसाद उपाध्यायले नेकपा एमाले र माओवादी केन्द्र मिलेर ठुलो पार्टी बनेको दाबी गरे पनि जनताको विश्वास जित्न नसक्ने दाबी गरे ।
प्रदेश नं. ५ का प्रदेश सभा सदस्य फकरुद्दिन खाँले कम्युनिस्टहरूमा चुनावबाट सत्ता प्राप्त गरेकोमा दम्भ पलाएको भन्दै त्यस्तो दम्भ धेरै समय नटिक्ने उल्लेख गरे ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, नेपाली काँग्रेसका महासमिति सदस्य युवराज गिरी, नेपाली काँग्रेसका वुटवल उपमहानगर सभापति खेलराज पाण्डे, विष्णु पोखरेल, रामबली चौधरी लगायतले बोल्दै काँग्रेसलाई बलियो शक्तिको रूपमा स्थापित गर्न अव सङ्गठन निर्माणमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।
नेपाली काँग्रेस सैनामैनाका सभापति रामप्रसाद अधिकारीको उपस्थितिमा भएको कार्यक्रममा प्रजातन्त्र ल्याउन योगदान दिने प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरिएको थियो भने केही हप्ता अघि जापानमा भएको तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता सैनामैनाका खेलाडीहरूलाई सम्मान गरिएको थियो ।

