एबोलाको महामारीमा कङ्गो, डब्लुएचओको आकश्मिक बैठक - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

एबोलाको महामारीमा कङ्गो, डब्लुएचओको आकश्मिक बैठक



अफ्रिकी राज्य कंगोमा इबोलाको महामारी फैलिएपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्न विश्व स्वास्थ्य संगठन, डब्लुएचओको आकश्मिक बैठक बसेको छ ।

बैठकले शुक्रबार अहिले कंगोमा फैलिएको इबोला महामारीलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकालको रुपमा घोषणा गर्ने सम्भावना छ ।

कंगोबाट अरु क्षेत्रमा पनि इबोला संक्रमण फैलिन सक्ने सम्भावना छ । कंगोमा अहिले फैलिएको इबोला महामारीका कारण २३ जनाको ज्यान गएको पुष्टि भएका छ भने कम्तिमा ४४ जना संक्रमित भएका छन् ।

अहिले कंगोको ग्रामीण क्षेत्रमा फैलिएको इबोला महामारी अरु क्षेत्रमा पनि बिस्तार हुने खतरा उच्च रहेको डब्लुएचओका अधिकारी पिटर सलामाले बताएका छन् ।

कंगोको ग्रामीण क्षेत्रमा मेको सुरुमा देखिएको इबोला संक्रमणले महामारीको रुप लिएको हो ।

कंगोका स्वास्थ्य मन्त्री ओली इलुन्गा कालेन्गाले मबान्डाकामा इबोलाको महामारी फैलिएको पुष्टि गरेका हुन् ।

मबान्डाकाम भन्दा १३० किलोमिटर पर रहेको गाउँमा मे को सुरुमा इबोलको संक्रमण भेटिएको थियो । त्यसले १० लाख भन्दा बढीको बसोबास रहेको मबान्डाकामा अहिले महामारीको रुप लिएको स्वास्थ्यमन्त्री कालेन्गालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

मबान्डाका ग्रामीण भूभागलाई राजधानी किन्शाससँग जोड्ने प्रमुख बजार हो । जहाँबाट राजधानी आउने जाने गाडी चल्ने गर्छन् । अहिलेसम्म ४४ जनामा इबोलाको संक्रमण रहेको पुष्टि भएको छ ।

इबोलकै कारण २३ जनाको ज्यान गएको छ । यो कंगोको इक्वेटर प्रान्तका तीन स्वास्थ्य संस्थाको तथ्याङ्क रहेको विश्व स्वास्थ्य संगठन, डब्लुएचओले जनाएको छ ।

स्वास्थ्यकर्मीले अहिलेसम्म इबोला संक्रमणको सम्भावना रहेका ४३० जनाको पहिचान गरेको डब्लुएचओका पिटर सलामाले बताएका छन् । कंगोको उत्तर–पश्चिमी क्षेत्रमा अहिले इबोलाको संक्रमण फैलिएको हो ।

त्यस क्षेत्रमा चार हजार भन्दा बढीमा इबोला संक्रमणको उच्च जोखिम रहेको र स्वास्थ्यकर्मी उनीहरुसम्म पुग्ने प्रयासमा रहेको डब्लुएचओले उल्लेख गरेको छ ।

डब्लुएचओले बुधबार त्यस क्षेत्रमा परीक्षणका लागि तयार गरिएको खोपको चार हजार भन्दा बढी मात्रा पढाइएको छ ।

सन् २०१४ र २०१६ मा फैलिएको इबोला महामारीका कारण गिनी, लाइबेरिया र सिएरा लियोनमा मात्रै ११ हजार ३०० भन्दा बढीको ज्यान गएको थियो । त्यसबेला कंगोमा पनि इबोलाको संक्रमण फैलिएको थियो ।