अधिकार प्रदेशमा पठाउन माग गर्दै मुख्यमन्त्री भट्टले भेटे मन्त्री बिना मगरलाई - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

अधिकार प्रदेशमा पठाउन माग गर्दै मुख्यमन्त्री भट्टले भेटे मन्त्री बिना मगरलाई



काठमाडौँ , खानेपानी मन्त्री बिना मगरलाई भेटेर ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानमा लेखिएका अधिकार प्रदेश सरकारमा तत्काल पठाउन माग गर्नुभएको छ ।

खानेपानी मन्त्रालयमा मन्त्री मगरलाई भेट्नुहुँदै मुख्यमन्त्री भट्टले अधिकार प्रदेशमा पठाउन ढिलाइ भइरहेको बताउनुभयो । ‘प्रदेश सरकार बनेपछि जनताको आकर्षण प्रदेशमै छ, त्यसलाई २–३ महिनामै व्यवहारिक रूपमा कार्यान्वयन गर्न नसके प्रदेश सरकारप्रति जनतामा वितिष्णा जाग्ने छ र जनता प्रदेश सरकारको विरोधमा उत्रने छन्,’ मुख्यमन्त्री भट्टले भन्नुभयो ।

प्रधानमन्त्री र सङ्घका मन्त्रीहरूसँग भेटवार्ता गर्न आजै काठमाडौँ आउनुभएका मुख्यमन्त्री भट्टले मन्त्री मगरलाई भेटेर ७ नम्बर प्रदेशको समग्र विकासका विषयमा समेत छलफल गर्नुभएको छ ।

विगतका सरकारको प्राथमिकतामा पर्न नसकेको सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेशको तीव्र विकासका लागि सङ्घीय सरकारमा मन्त्री मगरले पहल गर्नुपर्ने मुख्यमन्त्री भट्टले बताउनुभयो । ‘सङ्घ र प्रदेश सरकार दुवैलाई मिलाउन सके मात्रै प्रदेशको विकास गर्न सकिन्छ । त्यसैले केन्द्र सरकारमा मन्त्री ज्यूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्र्ने आवश्यकता छ,’ भेटमा मुख्यमन्त्री भट्टले भन्नुभयो ।

भेटवार्तामा ७ नम्बर प्रदेशका सीमा समस्या समाधान, सडक सञ्जाल, खानेपानी, शिक्षा, स्वास्थ्य पूर्वाधार लगायतका विषयमा समेत छलफल भएको छ ।सङ्घीय सरकारले अधिकार बाँडबाँडबारे स्पष्ट कानुन बनाउन नसक्दा कर्मचारी परिचालन र बजेट विनियोजनमा समस्या भइरहेको मुख्यमन्त्री भट्टले बताउनुभयो ।

‘कर्मचारी कानुनी रूपमै प्रदेश मातहत नआउँदा काम गर्दैनन्,’ उहाँले भन्नुभयो, ‘बजेट विनियोजन र कार्यक्रम निर्माणमा समेत अलमल देखिएको छ ।’ सङ्घमा रहने तथा प्रदेश र स्थानीय तहमा जाने बजेट र कार्यक्रमबारे छलफल भइरहेकाले यो विषय चाँडै टुंगिने मन्त्री मगरले बताउनुभयो । ७ नम्बर प्रदेशबाटै सङ्घीय सरकारमा प्रतिनिधित्व गरेकाले प्रदेशको विकासका लागि आवश्यक भूमिका सशक्त रूपमा निर्वाह गर्ने मन्त्री मगरले बताउनुभयो ।

काठमाडौँमा रहँदा सङ्घीयताको प्रभावकारी कार्र्यान्वयनका लागि पहल गर्न माग गर्दै प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेट्ने कार्यक्रम रहेको मुख्यमन्त्री भट्टले बताउनुभयो । अधिकार स्पष्ट नहुँदा काम गर्न असहज भइरहेको मुख्यमन्त्री भट्टको गुनासो छ ।