माअोवादी सांसद कुशवाहलाई पक्राउ गर्न आदेश - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

माअोवादी सांसद कुशवाहलाई पक्राउ गर्न आदेश



रौतहट । जिल्ला अदालत गौरले वन पैदवार गैरकानुनी रुपले ओसारपसार गरेको आरोपमा प्रदेश २ का सांसद कुन्द कुशवाहलाई पक्राउ गर्न जिल्ला प्रहरीलाई पत्राचार गरेको छ । कुशवाह माओवादी केन्द्रबाट रौतहटको क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्यमा विजयी भएका थिए । उनको वन कसुरको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै पक्राउ पूर्जी जारी भएको छ ।

बिना इजाजत वन पैदवार ओसारपसारमा संलग्न रहेको भन्दै पुनरावेदन अदालत हेटौंडाको फैसला अनुसार एक वर्ष जेल सजाय सुनाएको सदस्य कुशवाहलाई पक्राउ गर्न अदालतले बैशाख १९ गते जिल्ला प्रहरीको नाममा पत्र पठाएको हो ।

‘सर्वोच्च अदालतम विचाराधीन मुद्दाको पक्राउ आदेश आउनुले आश्चर्यमा परेको छु,’ उनले भने, ‘यस्तो कसरी भयो । बुझ्ने प्रयास गर्दैछु ।’ उनले अदालतको फैसला अनुसार बिगो बापत ५ लाख ५५ हजार ८ सय ८० रुपैयाँ बराबरको जेथा राखेको जनाए । सर्वोच्चमा मु्द्दा विचाराधीन रहेकै अवस्थामा उनले प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका थिए ।

बाराको साविक पिपरा सिमरास्थित पथलैया चोकमा सवारी चेकजाँचका क्रममा २०६९ असोज २ गते बिहान जिल्लाको कटहरिया बजारबाट कास्कीको पोखरा जान लागेको ना ४ ख ४६४० नम्बरको ट्रकमा अनुमति बिनाको सालको चिरान काठ २ सय ६५ थानको ४ सय ६९ क्यूफिट र ८ क्विन्टल स्ट्रिप बरामद भएको थियो ।

ट्रक चालक ईन्द्रबहकादुर मानन्धरले ३ सय ५० बोरा चामल रहेको प्रहरीलाई बताएर उम्कन खोजेका थिए । त्रिपालले छोपेको ट्रकका बारे प्रहरीले शंका गरेर चेक गर्दा सालको चिरान काठ बरामद गरेको थियो ।

वनको ईजाजत पत्र अनुसार २०६९ भदौ २९ गते रेन्जर जैसवाललाई काठ शिलबन्दीका लागि बुझाएको थियो । रेन्जरकै रोहवरमा शिलबन्दी भएकाले काठ वैध–वैध भन्ने जैसवाललाई नै थाहा भएको तत्कालीन सहायक वन अधिकृत बिन्देश्वरराय यादवले अदालत समक्ष बकपत्र गरिदिएका छन् ।