कैलालीमा चलेको भीषण आँधीबेहरीका कारण धनमालको ठूलो क्षति - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

कैलालीमा चलेको भीषण आँधीबेहरीका कारण धनमालको ठूलो क्षति



धनगढी/रासस  । गएराति कैलालीमा चलेको भीषण आँधीबेहरीका कारण धनमालको ठूलो क्षति पुगेको छ । झन्डै आधा घन्टासम्म चलेको आँधीबेहरीका कारण कच्ची घरको धुरी (बल्ली) खस्दा त्यसमा च्यापिएर गौरीगङ्गा नगरपालिकाकी ५६ वर्षीया चारुमति बुढाको मृत्यु भएको हो ।

यसैगरी आँधीबेहरीका कारण कैलारी गाउँपालिका हसुलियाकी २१ वर्षीया बेदनिया चौधरी र ४० वर्षीया शोभा चौधरी घाइते भएकी छिन् । घाइतेलाई सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाएको छ ।

प्रहरीले दिएको क्षतिको विवरणअनुसार गौरीगंगा नगरपालिकाको एक घरगोठमा भएको आगलागीमा जलेर एक चौपाया र मसुरियामा अर्को एक चौपाया मरेको छ । आँधीबेहरीका कारण चुरेपहाडी क्षेत्र सुगरखालमा २१ कच्ची घर र चार विद्यालयको छाना उडाएको छ ।

यस्तै मालाखेतीमा २० घर र तीन विद्यालय, टीकापुरमा आठ, मोहन्यालमा १००, मसुरियामा १३, वर्दगोरिया र भजनीमा एक÷एक घर तथा एक विद्यालय, धनगढीमा ३८ घर र एक विद्यालयको छाना उडाइ क्षति पुर्‍याएको छ ।

यस्तै धनगढीको विशालनगर र मोहनपुर क्षेत्रका तीन वटा कुखुरा फार्मका सात हजारभन्दा बढी कुखुराका चल्ला र ठूलो संंख्याका ब्रोइलर कुखुरा नष्ट भएका छन् । आँधीले रुख ढलाएपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय परिसरका फलामे बारमा क्षति पुर्‍याएको छ ।

वर्षासहितको आँधीबेहरीले धनगढीमा रहेको धनगढी एफएम र जनआवाजको टावर ढलेर क्षति पुगेपछि एफएमको प्रशारण बन्द भएको छ ।

नेपाल विद्युत् प्राधिकरण धनगढीका अनुसार, आँधीबेहरीले धनगढी र आसपासका क्षेत्रमा झण्डै ४० लाख मूल्य बराबरका १८० वटा बिजुलीका खम्बा र तार चुँडिएर क्षति पुगेको जानकारी दिए । विद्युत्मा पुगेको क्षतिसँगै जिल्लामा गए रातिदेखि नै विद्युत आपूर्ति बन्द भएको छ ।

यस्तै गएरातिदेखि नै अवरुद्ध टेलिफोन र मोबाइल फोन सेवा अझैसम्म पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । आँधीबेहरीले रुख र हाँगा खसेरअवरुद्ध भएका केही क्षेत्रका सडकमा दिउँसोसम्म आवागमन नियमित बनाइएको छ ।

आँधीबेहरीले आँप लिची केरा खेती पनि नष्ट भएको छ । तीन दशकयताको सबैभन्दा ठूलो आँधीबेहरी भएको महसुस गरिएको स्थानीय चेतराज जोशीले बताउनुभयो । क्षतिको विस्तृत विवरण आउन भने बाँकी रहेको छ ।