प्रदेश ७ कै प्रमुख धनगढी–गौरीफण्टा भन्सार बन्द हुने ! - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

प्रदेश ७ कै प्रमुख धनगढी–गौरीफण्टा भन्सार बन्द हुने !



हरिश चन्द्र बाग, कञ्चनपुर
सात नम्बर प्रदेशकै प्रमुख भन्सार नाकाका रुपमा रहेको धनगढी–गौरीफण्टा भन्सार नाका बन्द हुने निश्चित भएको छ । भारतीय राजदुत मञ्जिव सिंह पुरीले केहीसमय अगाडी धनगढीमा आयोजित एक कार्यक्रममा गौरीफण्टा भन्सार नाका सन् २०१९ भित्रै बन्द गरिने उद्घोष गरेपछि भारतीय गौरीफण्टा बजार समेत हटाइसकिएको छ ।

भारतीय क्षेत्रमा दुधुवा नेसनल पार्कको घनघोर जंगल रहेका कारण भारतीय पक्षले कष्टम अफिस पनि सीमा क्षेत्र भन्दा ३५ किलोमीटर टाढा पलिया बजारमा सारिसकेको छ । सात नम्बर प्रदेशकै प्रमुख नाका धनगढी–गौरीफण्टा नाका विस्थापित हुने भएपछि त्यसको उत्तम विकल्प कञ्चनपुरको बेलौरी खजुरीया भन्सार नाकालाई हेरिएको छ । यसका साथै बेलौरी–खजुरीया छोटी भन्सार नाकालाई स्तरोन्नती गरी सात नम्बर प्रदेशकै प्रमुख नाकाका रुपमा स्थापित गर्न नागरीक स्तरबाट पहल समेत भइरहेको छ ।

वि.सं. २०१९ साल सम्म कैलाली र कञ्चनपुरको सदरमुकाम समेत रहेको बेलौरीमा भन्सार कार्यालय स्थापना भएको १५५ वर्ष पुगेको छ । ७ नम्बर प्रदेशको राजधानी धनगढीबाट २२ किलोमिटर पश्चिम र कञ्चनपुरको हालको सदरमुकाम महेन्द्रनगरबाट ४८ किलोमिटर दक्षिणपूर्वमा रहेको बेलौरीमा भारत संगको खुला सीमा नाका रहेको छ । बेलौरी भन्सारसंग जोडिएको खजुरिया सम्म भारतको नेसनल हाइवे रोड बनिसकेको छ ।

यता नेपाल तर्फ धनगढीबाट बेलौरी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्ग संग जोड्ने कलुवापुर बेलोरी सडकखण्ड कालोपत्रेको क्रममा रहेका छन् । नेपाल तर्फ लामो समयसम्म छोटी भन्सारको नाममा आवश्यक जग्गा, भवन सहितका आवश्यक पूर्वाधार र सडग सञ्जालको समेत बन्दोबस्त भइसकेको उल्लेख गर्दै भन्सार नाका सम्बन्धी जानकार स्थानीय पल्लब राज भट्ट भारतीय पक्षले खिरी जिल्लाको खजुरीयामा कष्टम अफिस खोल्ने बित्तिकै द्विदेशीय भन्सार नाका सञ्चालन गर्न सकिने हुँदा आवश्यक पहलका लागि परराष्ट्र मन्त्रालय समक्ष आग्रह गर्नुभएको छ ।

सात नम्बर प्रदेशकै प्रमुख नाकाका रुपमा रहेको धनगढी–गौरीफण्टा नाका विस्थापित हुनु र पश्चिमी सीमा नाका दैनिक पाँच घण्टा मात्रै खुल्नु वनवे सडकखण्डका कारणले नेपाललाई पचासौँ करोड बराबरको घाटा भइरहेको भन्दै अब बेलोरी खजुरीया नाका प्रमुख भन्सारका रुपमा स्थापित हुनुपर्ने बेलौरी नगपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको धारणा रहेको छ ।

नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कञ्चनपुरको बेलौरी छोटी भन्सार नाकाको स्तरोन्नति गर्न आफुले पहल गर्ने बताउनु भयो । कञ्चनपुरको बेलौरीलाई सात नम्बर प्रदेशको प्रमुख भन्सार नाका बनाउने सन्दर्भमा आफु सकारात्मक रहेको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका क्रममा उक्त विषयमा समेत छलफल गर्ने मन्त्री ज्ञवालीको भनाइ छ ।

भारतसंगको द्वीदेशीय भन्सार नाकाका रुपमा बेलौरी–खजुरीया भन्सार नाका स्थापित गर्न सके सात नम्बर प्रदेशको राजधानी धनगढी र पश्चिमी बजार महेन्द्रनगरको समदूरीमा रहने र सात नम्बर प्रदेशका सात वटै पहाडी जिल्लाका लागि समेत सहज हुने देखिन्छ । यसका साथै एक शताब्दी भन्दा लामो समयसम्म कैलाली र कञ्चनपुरको सदरमुकाम रहेको बेलौरीलाई पुनर्जीवन मिल्नुका साथै समग्र प्रदेशको आर्थिक विकास समेत मजबुत हुने विश्वास गर्न सकिन्छ ।