फेसबुकमा मोदीको चर्को विरोध गरे सिधै पक्राउ
मोदीको भ्रमणका क्रममा हुने संभावित विरोध तथा नाराजुलुस निस्तेज पार्न राजधानीबाट २०० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिने तयारी प्रहरीको छ । प्रहरी स्रोतका अनुसार बिहीवार विहानदेखि नै मोदीको विरोधमा उत्रिएका केही व्यक्तिलाई नियन्त्रणमा लिन शुरु गरिसकिएको छ ।
विहीवार अपराह्नसम्म करिब १ दर्जन व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता र फेसबूकलगायतका सामाजिक सञ्जालमा मोदी भ्रमणको चर्को विरोध गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिइने छ ।
‘बिहीवार विप्लवका केही कार्यकर्तालाई नियन्त्रणमा लिइएको छ,’ महानगरीय प्रहरी स्रोतले लोकान्तरसँग भन्यो, ‘शुक्रवार विहानसम्म करिब २०० जनालाई नियन्त्रणमा लिने तयारी छ ।’
प्रहरीले फेसबूकलगायत सामाजिक सञ्चालमा मोदीको नेपाल भ्रमणको चर्को विरोध गर्ने व्यक्तिलाई समेत पक्राउ गर्ने तयारी गरेको छ ।
‘केही व्यक्ति सामाजिक सञ्जालमार्फत अराजकता फैलाउन उद्दत देखिएका छन् । त्यस्ता व्यक्तिलाई पनि नियन्त्रणमा लिइन्छ,’ प्रहरीका अधिकारीले लोकान्तरसँग भने, ‘लागूऔषध प्रयोग गर्ने तथा पैंसा पाए जे पनि गर्ने नेचर भएका व्यक्तिलाई पनि नियन्त्रणमा लिइन्छ ।’लोकान्तरको सहयोगमा