सच्चा कम्युनिष्टहरु जहिले पनि एकताको पक्षमा हुन्छन् :प्रचण्ड - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

सच्चा कम्युनिष्टहरु जहिले पनि एकताको पक्षमा हुन्छन् :प्रचण्ड



काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सच्चा कम्युनिष्टहरु जहिले पनि एकताको पक्षमा हुने बताएका छन्।

महोत्तरीको बर्दिवासमा आयोजित ‘निर्मल लामा १८ औं स्मृति सभा’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउन पार्टी एकता भएको बताए।

‘हामी शक्तिशाली कम्युनिष्ट केन्द्र मार्फत देशमा स्थिरता, विकास, समृद्धि र समाजवादको आधार निर्माण गर्ने एउटा महान् उद्देश्य सहित अगाडि बढेका छौं।’, अध्यक्ष दाहालले भने, ‘पार्टी एकताबाट दायाँ–बायाँ गर्ने भन्ने हुनै सक्दैन।’ आफू र प्रधानमन्त्री केपी शर्मा ओलीका कारणले एकता प्रक्रिया नलम्बिएको स्पष्ट पार्दै अध्यक्ष दाहालले परिपक्क एकताको पक्षमा भएकाले समय लागेको बताए।

आफूहरुले हरेक निर्णयहरु सामुहिक तरिकाले छलफल गर्ने गरेको बताउँदै दाहालले भने, ‘जुन दिनदेखि पार्टी एकता गर्ने भन्यौं, त्यहि दिनदेखि अर्को पक्षलाई राम्रो लागेको छैन। उनीहरुले रुन पनि नपाउने भनेर प्रचार गरे। हामीले नेपाली जनताले रुनै नपर्ने बनाउने भनेका छौं।’

अध्यक्ष दाहालले चुनावसम्म वाम गठबन्धन सजिलैसँग गएपनि एमाले र माओवादी नेतृत्वलाई प्रतिक्रियावादीले एम्बुसमा पार्ने कोशिस गरेको बताए।

‘अरुले पार्टी एकतामा जे–जस्तो षड्यन्त्र गरेपनि निर्णायक हामी नै हौं।,’ उनले भने, ‘हाम्रो काम गर्ने कार्य शैलीमा हुने कमजोरीलाई सच्याउन जरुरी छ। हामी यो पार्टी एकतालाई निश्कर्षमा पुर्याउने ठाउँतिर लैजाँदै छौं।’

एउटा सही विचारको आधारमा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्ने अवसर प्राप्त भएको भन्दै दाहालले यो अवसर गुम्न नदिन हामी सबै एकजुट हुनुपर्ने बताए।