पीएसजीले लगातार चौथो पटक जित्यो फ्रेन्च कपको उपाधि - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

पीएसजीले लगातार चौथो पटक जित्यो फ्रेन्च कपको उपाधि



मोनाको : फ्रान्सको राष्ट्रिय रंगशालामा बुधबार बिहान भएको खेलमा फ्रेन्च कप फुटबल प्रतियोगिताको उपाधि पेरिस सेन्ट जर्मन (पीएसजी) ले जितेको छ ।

पीएसजीले तेस्रो डिभिजनको क्लब लेस हर्बियसलाई २-० गोलले हराउँदै उपाधि हात पारेको हो । पीएसजीले लगातार चौथो पटक फ्रेन्च कपको उपाधि चुमेको हो । सन् २०१५ देखि पीएसजीले लगातार यो प्रतियोगिताको उपाधि जित्दै आएको छ ।

भर्खरै फ्रेन्च लिगको उपाधि चुमेको पीएसजीलाई फ्रेन्च कपको उपाधि दिलाउन जियोभानी लो सेल्सोले २६औं मिनेटमा पहिलो गोल गरेका थिए । जियोभानीको करिब २५ यार्ड लामो प्रहार सोझै गोलमा परिणत भयो । खेलभर तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी लेस हर्बियसलाई दबाबमा राखेको पीएसजीले दोस्रो हाफमा अर्को गोल थपेको थियो ।

पीएसजीका लागि पेनाल्टीमार्फत एडिन्सन काभानीले दोस्रो गोल गरेका थिए । डीबक्सभित्र लेस बर्बियसका म्याथ्यु पिचोटले फल खेलेपछि पाएको पेनाल्टी प्रहारको अवसरलाई काभानीले सही सदुपयोग गरेका थिए । पीएसजीले खेलभर लेस हर्बियसलाई दबाबमा राखेको थियो । उपाधि जितेपछि पीएसजीका अफिसियल र खेलाडीले खुसी मनाउनु स्वाभाविक थियो । तर, लेस हर्बियसका खेलाडी र अफिसियलसमेत हारेर पनि उत्तिकै खुसी देखिएका थिए ।