ओलीको एउटा ट्वीटले माओवादीको सातो गयो ! - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

ओलीको एउटा ट्वीटले माओवादीको सातो गयो !



काठमाडौं–बाम एकता हुने चर्चासंगै आजकल एमाले र माओवादीमा विभिन्न खाले घटना र परिघटना देखिएका छन् । कहिले प्रचण्डको प्रस्तावले एमालेमा खलबली ल्याउछ त कहिले ओलीको ट्वीटले माओवादीमा तरङ्ग फैलाउँछ ।

सोमवार प्रधानमन्त्री तथा एमाले अध्यक्षले गरेको एउटा ट्वीटले माओवादीमा खैलाबैला नै मच्चाएको छ । एक ट्वीटप्रति सत्ता साझेदार दल मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गम्भीर चासो व्यक्त गरेका छन् ।

यस विषयमा प्रचण्डले आजै प्रधानमन्त्री ओलीसँग कुरा गर्ने माओवादी नेताहरुले बताएका छन्, भने एमाले निकट सुत्रले भने एकताको माहोलमा माओवादी दायाँ र बायाँ गर्न खोजेकोले सचेत बनाएको जनाएको छ ।

‘एउटै घोषणापत्र लिएर चुनावमा गएको पार्टीसँग बजेट निर्माणबारे कुनै छलफल छैन, सचिव सरुवामा छलफल नै छैन,’ प्रचण्डले भने, ‘दुई पार्टी एक हुन लागेको समयमा यसरी हुन्छ ? ट्वीटरमा के–के लेखेको पनि सुनेँ, अब यस विषयमा गम्भीर कुरा हुन्छ,’ प्रचण्डले भनेका थिए ।

प्रचण्डले बजेट निर्माणमा पनि आफूहरूलाई उपेक्षा गर्न खोजिएको आरोप लगाए । ‘संघीयतालाई फोकस गरेर बजेट ल्याऔँ भन्ने हाम्रो प्रस्ताव छ । तर हामीसँग परामर्श नगरी बजेट ल्याउने कोसिस हुँदैछ,’ प्रचण्डले एमालेको भूमिकाप्रति आशंका गर्दै भने, ‘हामी एकताका लागि इमान्दार छौँ, तर झुकेरचाहिँ एकता हुँदैन ।’

यस्तो थियो ओलीको ट्वीट-
‘हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेकाछौं । आफ्नो दूनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुनसक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।’