मोदीको सुरक्षाका लागि भन्दै भारतीय सुरक्षाकर्मीको चलखेल
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै इन्डियन एयरफोर्सका कम्तीमा २५ सुरक्षाकर्मी आउनेछन् । उनीहरू सबै सादा पोसाकमा रहनेछन् । भ्रमणभर प्रधानमन्त्री मोदी सुरक्षाको पहिलो घेरामा उनीहरू नै रहनेछन् । जनकपुर ओर्लिएपछि मोदी सुरक्षाको सम्पूर्ण कमान्ड नेपाली सेनाले सम्हाल्नेछ ।
सेनाको कम्तीमा एक प्लाटुन मोदी सुरक्षाको दोस्रो घेरामा रहनेछ । उनीहरू पनि सादा पोसाकमै रहनेछन् । त्यसपछिको तेस्रो सुरक्षा घेरामा नेपाली सेना र नेपाल प्रहरी रहनेछन् । यसका लागि सेनातर्फको कम्तीमा मेजरको कमान्डमा एक सय २५ सैनिक खटिनेछन् ।
उनीहरू भने औपचारिक पोसाकमै हुनेछन् । चौथो घेरामा सशस्त्र प्रहरी बलका सुुरक्षाकर्मी रहनेछन् । उनीहरू पनि हतियारसहित पोसाकमै रहनेछन् ।
गृहका अनुसार मोदी भ्रमणभर जनकपुरमा मात्रै नेपाल प्रहरीबाट दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुनेछन् । यो टोली भ्रमण अवधिभर सय मिटरको फरकमा सडकमा उभिनेछ ।
मोदीको कार्गेटमा पनि नेपाल प्रहरी नै हुनेछ । भ्रमण अवधिभर सडक क्लियर गर्ने जिम्मा नेपाल प्रहरीकै छ । यस अवधिमा सीमा क्षेत्रका नाका सिल गरिनेछ ।
२ हजार पाँच सयकै हाराहारीमा सशस्त्र प्रहरीबाट पनि सुरक्षाकर्मी खटिनेछन् । उनीहरूले बन्द गरिएको सीमानाकामा नेपाल प्रहरीसँगै संयुक्त रूपमा गस्ती गर्नेछन् ।
त्यसबाहेक जानकी मन्दिरवरिपरि घरका छत, पुल, सडक तथा मन्दिर परिसरमा सशस्त्रका सुरक्षाकर्मी हतियारसहित तैनाथ रहनेछन् । राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर पनि भ्रमण अवधिभर खटिनेछन् । उनीहरूले भने सुरक्षासँग सम्बन्धित सूचना मात्रै संकलन गर्नेछन् । नयाँ पत्रिकाबाट ।