अर्को सिन्डिकेट तोड्ने तयारीमा सरकार, निशानामा ठुला व्यापारी ! - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

अर्को सिन्डिकेट तोड्ने तयारीमा सरकार, निशानामा ठुला व्यापारी !



विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगतमा उपभोक्ता ठग्ने साना व्यापारीलाई मात्र कारबाही गरिएकोमा अब ठूलो व्यापारीलाई कारबाही गर्दै यो क्षेत्रभित्र रहेको सिन्डिकेट पनि तोडिने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपभोक्ताको स्वास्थ्य, कालाबजारी र राजश्व छली गर्ने साना, ठूला नभनी सबैलाई समानरुपमा कानून अनुसार कारबाही गर्ने दृढता व्यक्त गरे ।

आपूर्ति मन्त्री यादवले अहिले मुलुकमा शिक्षा, स्वास्थ्य, यातायात क्षेत्रमा मात्र नभै उद्योग क्षेत्रमा पनि सेण्डिकेट रहेको उल्लेख गर्दै सरकारले जूनसूकै सिण्डिकेट प्रथालाई जराबाटै उखाल्ने बताए ।

कानूनको जटिलताका कारण नै उपभोक्तासँग बढी मूल्य लिने चार चक्के गाडी व्यवसायीलाई कारबाही गर्न नसकेको बताउँदै उनले यस सम्बन्धमा कानून निर्माण गरी उपभोक्तालाई सुपथ मूल्य चार चक्के तथा दुई चक्के यातायात खरिद गर्ने व्यवस्था मिलाइने बताए ।रासस