यातायात व्यवसायीलाई मुद्दा चलाउने प्रहरीको तयारी - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

यातायात व्यवसायीलाई मुद्दा चलाउने प्रहरीको तयारी



काठमाडौं– गाडी ग्यारेजमा थन्काएर आन्दोलन गर्दा पक्राउ परेका अधिकांश यातायात व्यवसायी शुक्रबारदेखि प्रहरी हिरासतमै छन्। पक्राउ परेकामध्ये केही भने छुटेका छन्।

अबदेखि यातायातमा हडताल नगर्ने भनेर कागज नगर्ने व्यवसायीलाई भने मुद्दा चलाउने प्रहरीको तयारी छ।

कागज गर्ने केही व्यवसायीहरु शनिबार नै कागज गरेर छुटिसकेका छन्। आइतबार केही छुट्ने क्रममा छन्। पक्राउ परेका केही व्यवसायीहरुले भने कागज नगर्ने अडान लिएका छन्। उनीहरुलाई आवश्यक सेवा सञ्चालन एक २०१४ अनुसार कारबाहीका लागि गृह मन्त्रालयले सबै जिल्लाका प्रहरी प्रमुख जिल्ला अधिकारी तथा प्रहरीलाई निर्देशन दिएको छ। जसअनुसार उनीहरुलाई एक वर्षसम्म कैद सजाय हुन सक्छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहितका व्यवसायीहरु थुनामा छन्। अबदेखि हडताल नगर्ने लिखित कागज गरेर विभिन्न जिल्लाका व्यवसायीहरु शनिबार छुटेका छन्।

यातायात समितिहरु खारेज गर्ने, देशभरी रुट परमिट खुला गर्ने तथा रुट परमिटका लागि अनिवार्य कम्पनी दर्ताको प्रावधान लागू गरेपछि यातायात व्यवसायीहरु त्यसविरुद्ध हडतालमै उत्रिएका हुन्। त्यसविरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएपछि उनीहरु सेफ ल्यान्डिङको खोजिमा छन्। वार्तामार्फत समाधान गर्न उनीहरुले सरकारसँग आग्रह गरेका छन्।

उनीहरुले बैशाख २७ गतेदेखि अनिश्चितकालिन रुपमा गाडीहरु ग्यारेजमा थन्काउने तयारी गरेका छन्। सो हडताललाई असफल बनाउन सरकार आक्रामक बनेको हो।