मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्ध ‘म एक जिम्मेवार पुरुष’ अभियान सुरु - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्ध ‘म एक जिम्मेवार पुरुष’ अभियान सुरु



रत्ननगर– मानव बेचबिखन तथा लैंगिक हिंसाका घटना रोक्न चितवनको पदमपुरमा पुरुषलाई नै जिम्मेवार बनाउने गरी अभियान सुरु गरिएको छ।

पुरुषलाई बेचबिखन र हिंसाविरुद्ध अभियानमा सहभागी गराउन सके घटना न्यूनीकरण हुने भन्दै चितवनको कालिका नगरपालिकामा मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्ध ‘म एक जिम्मेवार पुरुष’ अभियान सुरु गरिएको हो।

मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्धको कार्यक्रमअन्तर्गत पदमपुरको चेतना चेली बहुउद्देश्यीय सहकारी संस्था र कालिका पुरुष रक्षक समूहद्वारा शनिबार पदमपुरमा आयोजित कार्यक्रममा बोल्दै सहभागीले हिंसा र बेचबिखन रोक्न सुरु भएको अभियानमा ऐक्यबद्धता जनाएका छन्।

कार्यक्रममा प्रदेश ३ का सदस्य घनश्याम दाहालले महिलालाई मनोरञ्जन गर्ने साधनका रुपमा मात्रै हेर्ने गरिएको भन्दै पुरुष सच्चिनुपर्नेमा जोड दिए।

मानव बेचबिखन र हिंसाविरुद्ध काम गर्दै आएको संस्था केआई नेपाल, चेली नेपाल तथा कालिका नगरपालिका, इलाका प्रहरी कार्यालय रत्ननगर, नेपाल शिक्षक महासंघ कालिका समिति र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा कार्यक्रम भएको थियो।

केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले हिंसाविरुद्ध पुरुष जिम्मेवार हुनुपर्छ भनेर यो अभियान थालिएको भन्दै सबैको हातेमालो जरुरी रहेको औँल्याए। बालिका हुने बित्तिकै भ्रूण हत्या गरेर हिंसाको सुरुआत हुने गरेको तीतो यथार्थ पोख्दै भट्टराईले महिला र बालिका जोगाउनुपर्नेमा जोड दिए।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले कालिका नगरपालिकाको पदमपुर क्षेत्रमा पनि हिंसाका घटना हुने गरेको स्मरण गर्दै यो अभियानले हिंसाका घटना रोक्न सहयोग पुग्ने उल्लेख गरे।

महिला अधिकारकर्मी संगीता भट्टराईले ‘म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसा भए प्रतिकार गर्छु’ भनेर सबैले प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा विभिन्न स्कूलका विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो। सोही क्रममा स्थानीयवासीले हिंसा र बेचबिखनविरुद्ध चेतनामूलक नाटक तथा गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा हिंसाविरुद्ध अभियान चाल्दै आएका अमेरिकाका १३ जना अभियन्ताको समेत सहभागिता रहेको थियो। रासस