मन्त्रीलाई राज्यमन्त्रीले भने : तपाईँहरुको स्टाइल मन परेन
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान र यात्रुको अत्याधिक चाप हुन थालेपछि सरकारले काभ्रेमा आन्तरिक विमानस्थल बनाउने तयारी थालेको छ ।
त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान र अवतरण हुने साना जहाजका कारण ठूला जहाज उडानको लागि विमानस्थलमा र अवतरणको लागि आकाशमा धेरैबेर पालो पर्खनुपर्ने स्थिति छ । यो स्थितिको अन्त्यका लागि भन्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारी काठमाडौं आसपास आन्तरिक विमानस्थल बनाउन कस्सिनुभएको छ ।
यसअघि पनि धेरैपटक त्रिभुवन विमानस्थलबाट उडान र अवतरण हुने साना जहाजलाई अन्यत्रै सारेमा हवाई ट्राफिक जाम कम हुने भन्दै विमानस्थल बनाउन काभ्रेका विभिन्न ठाउँमा जग्गा हेरिएको थियो ।
मंगलबार पनि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारी, काभ्रे क्षेत्र नम्बर २ का सांसद तथा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम, सञ्चारकर्मीलगायतको टोलीले काभ्रेका ३ वटा ठाउँको निरिक्षण गरेको छ ।
२०६९ सालमै काभ्रेको धुलिखेल नगरपालिकामा रहेको ठूलीचौरमा आन्तरिक विमानस्थल बनाउन सकिने निष्कर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणले निकालेको थियो ।
तर पछिल्लो समय ठूलीचौरका बासिन्दाले विमानस्थल बनाउन नदिने भन्दै विरोध गरेपछि वरपरका अरु जग्गा खोजियो । मंगलबार मन्त्री, राज्यमन्त्री, बनेपा र धुलिखेलका जनप्रतिनिधिलगायतको टोलीले सबैभन्दा पहिले बनेपा नगरपालिकामा पर्ने नागीडाँडाको निरीक्षण गर्यो । नागीडाँडामा पुगेर पर्यटनमन्त्री रवीन्द्र अधिकारीले अब चाँडै नै अध्ययन गरेर विमानस्थल बनाउने ठाउँको टुंगो लगाइने बताउनुभयो ।
तर नजिकै रहेका सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई यो कुरा चित्त बुझेन । विगतमा पनि पटक–पटक काभ्रेमा विमानस्थल बनाउने भनेर अध्ययन भएका प्रतिवेदन निस्किएका तर सबै कता–कता हराउने गरेको भन्दै बाँस्कोटाले नागीडाँडामै पर्यटन मन्त्री रवीन्द्र अधिकारीसँग गुनासोसँगै आक्रोश पनि पोख्नुभयो ।
‘तपाईँले अलि कुरा बुझेर जवाफ दिनुस्, मलाई कन्भिन्स गर्नै परेन’, राज्यमन्त्री बाँस्कोटाले भन्नुभयो, ‘यो मेरै क्षेत्र हो, मलाई दिक्क लागेको चाहिँ नेतृत्व बदलिँदा पहिलेका काम सबै भताभुङ्ग हुँने हाम्रो वर्किङ स्टाइलबाट हो, काभ्रेमा विमानस्थल बनाउने कुरा सुन्दा–सुन्दा म पाँच वर्षदेखि थाकिसकेको छु ।’
राज्यमन्त्री बाँस्कोटाकोे यो कुरापछि मन्त्री रवीन्द्र अधिकारीले पहिले ठूलीचौरमा विमानस्थल बनाउन भएका प्रयास र सफल हुन नसकेका कारणबारे नागरिक उड्डयन प्राधिकरणका कर्मचारीलाई जवाफ दिन भन्नुभयो । प्राधिकरणका अधिकारीहरुको भनाई सुनेपछि अधिकारीले भन्नुभयो, ‘केही रिपोर्ट तयार भएका छन्, अध्ययन गरेर हामी टुंगोमा पुग्छौँ ।’
लगत्तै राज्यमन्त्री बाँस्कोटाले भन्नुभयो, ‘हामीलाई एअरपोर्टको भोक त लागिसक्यो, ठूलीचौरमा हुन्न भन्ने जस्तो कुरा पनि सुनिन थालेपछि नागीडाँडामा आएको हो, यता र उता भन्दा दिक्क लागेर मैले यो कुरा गरिरहेको हो ।’