म किङ हुँ, किंग्स इलाभेन पन्जाबबाट खेल्न जन्मेको हुँ: क्रिस गेल
कोलकाता नाइटराइडर्समा तीन सिजन अनुबन्धित भैसकेका क्रिस गेल २०११ मा आईपीएलमा अक्सनमै परेनन् ।
त्यसपछि उनी वेस्ट इण्डिजका तर्फबाट पाकिस्तानविरुद्धको अन्तरराष्ट्रिय प्रतियोगिताको तयारीमा जुटेका थिए । तर तीन महिनापछि अचानक रोयल च्यालेन्जर्स बैंग्लोरबाट फोन आयो । उनलाई अष्ट्रेलियन खेलाडी डर्क न्यानस घाइते भएर टिमबाट बाहिरिएपछि उनको सट्टामा बोलाइएको थियो ।
त्यसपछिका ७ सिजनमा रोयल च्यालेन्जर्स बैंग्लोरबाट ३१६३ रनको योगदान दिैंदै उनी सबैभन्दा प्रभावशाली खेलाडी सावित भए । गेल टिममा भएकै कारण रोयल च्यालेन्जर्स बैंग्लोरको समर्थकहरु पनि बढे । रोयल च्यालेन्जर्स बैंग्लोर अरु टिमभन्दा बढी मन पर्ने क्लब बन्यो । गेलको चामत्कारिक प्रहार हेर्न मानिसहरु रोयल च्यालेन्जर्स बैंग्लोरको खेलको प्रतिक्षा गर्न थाले ।
उनले आईपीएलको २०१३ संस्करणमा रोयल च्यालेन्जर्स बैंग्लोरको लागि पुणे वारियर्सविरुद्ध एक्लैले १७५ रन बनाएका थिए । त्यो खेलमा पुणे वारियर्सका पूरै टिमले ब्याटिङ गर्दा पनि गेल एक्लैको स्कोरलाई भेट्टाउन सकेनन् र बैंग्लोरले १३० रनको विशाल अन्तरले जित्यो ।
यो घटना २०१८ मा आएर लगभग दोहोरियो । २०१७ को सिजनमा रोयल च्यालेन्जर्स बैंग्लोरका लागि नौ खेलमा २०० रनको योगदान दिएका गेललाई न रोयल च्यालेन्जर्स बैंग्लोरले ‘रिटेन’ गर्यो न त कुनै टिमले नै किन्ने चासो देखाए ।
अन्त्यमा गेललाई किंग्स इलाभेन पन्जाबले अनुबन्ध गर्यो । तर उनी सुरुमा अनुबन्ध भएका होइनन् । आफ्नो टिम लगभग तय गरिसकेको पन्जाबसँग अझै २ करोड रुपैयाँ बचेकाले उसले त्यो पैसाको उपयोग गर्ने हिसाबले मात्र गेलतिर चासो देखायो । बेस प्राइस २ करोड रहेका गेलमा कसैको चासो नगएको र आफूसँग २ करोड बाँकी भएकोले पन्जाबले गेललाई ‘बेस प्राइस’मा किन्यो ।
पन्जाबमा आवद्ध भएपछि गेलले रनहरुको त वर्षा नै गरे । उनले ४ खेलमा एक १५१ भन्दा बढीको स्ट्राइक रेटसहित अविजित रुपमा शतक प्रहार गर्दै २५२ रन बनाए । उनको शतक २०१८ को आईपीएलको पहिलो शतक थियो । उनले आफ्नो प्रदर्शनबाट आफू लयमै रहेको र परि आएमा आफ्नो टिमलाई जिताउन एक्लै लड्न सक्ने सन्देश पनि दिए ।
विश्वका चर्चित बलरहरुको जवाफमा उनले गरेको विष्फोटक ब्याटिङलाई समर्थकहरुले गेलस्टर्म सम्मको संज्ञा दिए । उनी पन्जाबबाट ३ इनिङ खेल्नासाथ यो संस्करणको सर्वाधिक चर्चित खेलाडी बने ।
पन्जाबबाट खेलेका ४ मध्ये अघिल्लो तीन इनिङमा कम्तीमा अर्धशतक बनाएका गेलले उनको प्रदर्शनप्रति सन्देह राख्नेहरुलाई गलत सावित गरेकै हुन् त?
‘मैले उनीहरुलाई गलत सावित गरेँ या गरिन मलाई थाहा छैन । शंका गर्नेहरु त सधैँ नै हुन्छन् तर मैले आफूलाई प्रमाणित गर्ने कुनै विकल्प थिएन । मेरा रेकर्डहरु आफै बोल्छन् । म अन्तिम चरणमा छनोटमा परे पनि यसले म यसका लागि चिन्तित थिइनँ’, टाइम्स अफ् इन्डियासँगको अन्तर्वार्तामा उनले भने ।
गेलले टी–ट्वेन्टीको लगभग सबै रेकर्ड हात पारिसकेका छन् ।
यस पटकको अक्सनमा कुनै टिमले गेललाई किन्ने चासो देखाएनन । तर पन्जाबले किनेपछि विष्फोटक प्रदर्शन गरेका उनले आफू पन्जाबबाट खेल्न पाएकोमा खुशी भएको बताए । ‘किंग्स इलाभेन पन्जाबबाट खेल्न पाउनु मेरो लागि राम्रो अवसर हो र अहिलेसम्म मैले राम्रो अनुभव गरेको छु’, उनले भने, ‘शायद यो हुन नै लेखिएको थियो, किङ गेल किंग्स इलाभेन पन्जाबबाट खेल्नकै लागि जन्मेको थियो ।’
उनी यो संस्करणको आईपीएल र अर्को वर्ष वेष्ट इन्डिजलाई विश्वकप जिताउन चाहन्छन् । यो वर्ष प्रिती जिन्टाको पन्जाबले आईपीएल ट्रफी उचालेको हेर्ने उनको इच्छा छ । ‘हाम्रो टिमकी प्रिती जिन्टाको आफ्ना खेलाडीहरुलाई प्रोत्साहित गर्ने तरिका ज्यादै सराहनीय छ, मलाई लाग्छ यो वर्षको आईपीएल ट्रफी उनले नै उचाल्नुपर्छ’, उनले भने ।
क्रिकेटबाहेक गेलको फिल्ममा खेल्ने रहर पनि छ । वेष्ट इन्डिजकै ड्वेन ब्राभोले तामिल फिल्ममा खेलेपछि उनलाई पनि विभिन्न निर्माताहरुबाट अफर आएकाले उनी निकट भविष्यमा फिल्ममा देखा पर्न सक्ने उनले बताए ।