फोर्ड गाडीमा अर्को ठगी धन्दा ! - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

फोर्ड गाडीमा अर्को ठगी धन्दा !



सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने ‘इकोस्पोर्ट टाइटानियम’ गाडीको बिक्रीमा ग्राहकबाट अस्वाभाविक रूपमा बढी रकम असुल्ने गरेको भेटिएको छ।

जीओ अटोमोबाइल्स प्रालिले उक्त गाडीको बिक्रीमा ४० प्रतिशतसम्म मूल्य असुलेर उपभोक्तालाई ठगी गरेको भेटिएको हो। उक्त कम्पनीले इकोस्पोर्ट टाइटानियम गाडीको बिक्रीमा करिब १२ लाख ३२ हजार रुपियाँ कुल नाफा राखेर उपभोक्तालाई बिक्री गर्दै आएको देखिएको छ।

कुल बिक्री मूल्य ३० लाख ५७ हजार ३ सय ८२ रुपियाँ रहेको उक्त गाडीमा कम्पनीले १२ लाख ३२ हजार ६ सय १८ रुपियाँ अतिरिक्त शुल्क लिई ४२ लाख ९० हजार रुपियाँमा बेच्ने गरेको छ। कुल मूल्य र बिक्री मूल्यबीचको अन्तर हेर्दा कम्पनीले ४० प्रतिशत खुद नाफा राखेर गाडी बेच्ने गरेको देखिन्छ। जुन रकम उपभोक्ताबाट ठगेको अतिरिक्त रकम हो।

जीओ अटोमोबाइल्स कम्पनीले उपभोक्ता ठगी गरेको यो पहिलो घटना भने होइन। केही समयअघि मात्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनमा सोही कम्पनीले बेच्दै आएकोे ‘इको स्पोर्ट फोर्ड’ १ दशमलव ५ लिटर पेट्रोल गाडी र ‘फिगो एस्पार ट्रेन्ड’ गाडीको बिक्रीमा वास्तविक मूल्यभन्दा ४० प्रतिशतभन्दा बढी रकम उपभोक्ताबाट असुलेको भेटिएको थियो।

विभागले उक्त कम्पनीविरुद्ध ठगी तथा कालोबजारीको मुद्दामा कारबाहीको प्रक्रियासमेत अगाडि बढाएको थियो। तर राजनीतिक पहुँचका आधारमा ती मुद्दालाई थामथुम पारिएको छ। ठूला व्यापारीले बजार अनुगमन कार्यलाई तत्काल रोक्न भन्दै शक्ति केन्द्र र सरकारलाई निरन्तर दबाब दिएपछि अनुगमनका कुनै पनि फाइल थप अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढ्न सकेको छैन।, यो खबर आजकोनेपाल समाचारपत्रमा छ ।