गृहमन्त्री बादललाई भ्रष्टाचारीको आरोप ! - Himal Post Himal Post
  • २७ मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 12 2025
Logo

गृहमन्त्री बादललाई भ्रष्टाचारीको आरोप !



दाङका यातायात व्यवसायीले गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भ्रष्टचारीको आरोप लगाउँदै तत्काल पदबाट राजीनामा दिन माग गरेका छन् ।

सरकारले यातायात समिति खारेज गरेको विरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएका दाङका यातायात व्यवसायीले आइतबार यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुर अगाडि प्रदर्शनका क्रममा गृहमन्त्री थापालाई भ्रष्टचारी भएको भन्दै तत्काल पदबाट राजीनामा दिन माग गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेशन नं. ५ का केन्द्रीय सदस्य ज्ञानबहादुर बस्नेत नेतृत्वमा बिहान दश बजे नै यहाँका यातायात व्यवसायी यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरको अगाडि पुगेर एक घन्टा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

समितिको पक्षमा विभिन्न प्लेकार्डसहित पुगेका यातायात व्यवसायी तथा मजदूरहरूले ‘भ्रष्ट गृहमन्त्री राजीनामा दे, २०३४ को ऐन लागू गर, व्यवसायीलाई दमन गर्न पाइँदैन, व्यवसायिक एकता जिन्दावाद’ भन्ने नारा लगाएका थिए ।

उनीहरूले गृहमन्त्री थापा केही सिमित व्यवसायीको प्रलोभनमा परेर छलफल नै नगरी समिति खारेज गरेको भन्दै चर्का नाराबाजी गरेका थिए ।