देउवामाथि पौडेलको यस्तो आरोप - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

देउवामाथि पौडेलको यस्तो आरोप



काठमाडौं – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा भएको हारको जिम्मा पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने जिकिर गरेका छन् । केन्द्रीय कार्यसमितिको जारी बैठकमा देउवा पक्षधर नेताहरूले गलत संस्कार देखाएको भन्दै पौडेलको आलोचना गरेपछि पौडेलले आफ्नो बचाउ गर्दै देउवालाई हारको जिम्मेवारी लिन दबाब दिएका हुन् । ‘कांग्रेस हारेकै हो, नेतृत्वले जिम्मा लिनुपर्छ’, पौडेलले शुक्रबार बैठकमा भनेका थिए, ‘मेरो भागमा परेको जिम्मा म लिन्छु ।’

देउवा पक्षधर नेताहरूले हारको जिम्मा वरिष्ठ नेता पौडेलले पनि लिनुपर्ने भन्दै देउवाको बचाउ गरेका थिए । तर, पौडेलले मूल नेतृत्व देउवाको भएकाले नैतिक रूपमा देउवाले नै जिम्मा लिनुपर्ने तर्क गरेका थिए । ‘कम्युनिस्ट गठबन्धनका कारण मात्र हामीले चुनाव हारेका होइनौं’, पौडेलले भने, ‘हाम्रो कार्यशैलीका कारण हार बेहोरेका हौं ।’

संविधानसभाबाट संविधान बनाउने बेला कांग्रेस रक्षात्मक हुनुले पनि चुनावमा कांग्रेस समर्थकहरू खुल्न नसकेको पौडेलको तर्क थियो । प्रधानमन्त्री बन्दैमा मात्र जनताले कसैलाई पनि स्वीकार नगर्ने तर्क पौडेलको थियो । आजको अन्नपूर्ण पोस्टले दोस्रो पृष्ठमा समाचार छापेको छ ।

‘गणेशमानजी एक पटक पनि प्रधानमन्त्री बन्नु भएन, तर तपाईं (शेरबहादुर) कति पटक प्रधानमन्त्री बनुभयो’, पौडेलले भनेका थिए, ‘आज जनताले तपाईंलाई पुज्छन् कि गणेशमानजीलाई ? ’ सत्तामा रहँदा पार्टी नेतृत्वले लोकप्रिय काम गर्न नसकेको र विधानअनुरूप सरकार सञ्चालन हुन नसकेको पौडेलको आरोप थियो ।

विगतमा पार्टी सभापति देउवाले नै एक व्यक्ति एक पदको कुरा गरे पनि आफू नेतृत्वमा आएपछि त्यसलाई ठाडै कुल्चेको पौडेलको आरोप थियो । त्यस्तै बैठकमा पार्टी एकीकरणको बेला आफूसँग भएको सहमतिलाई लागु गर्न नेता विजय गच्छदारले माग गरेका थिए ।