म्यानपावरको ठगी धन्दाः लाखौं युवालाई अन्तरवार्ताको नाममा पैसा असुल्दै
पूर्वश्रम स्वीकृति र विदेशिने युवाको संख्यामा अस्वाभाविक अन्तर देखिन थालेको छ । पछिल्लो ९ महिनामा नै यस्तो अन्तर ७ लाखमाथि पुगेको छ ।
साउनबाट चैतसम्ममा विदेशबाट म्यानपावरहरुले १० लाख २८ हजार जना नेपाली कामदारको माग ल्याए । तर अन्तिम स्वीकृति लिएर विदेश उड्ने कामदारको संख्या २ लाख ८१ हजार २ सय मात्रै छ । म्यानपावरमार्फत नै उड्ने मुस्किलले दुई लाख छन् ।
किन यस्तो हुँदैछ त ? वैदेशिक रोजगार विभाग काठमाण्डु कार्यालयका पूर्वप्रमुख तथा वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डितका अनुसार म्यानपावरहरुको ठगी धन्दा मौलाउँदा अस्वाभाविक रुपमा पूर्व श्रमस्वीकृति लिने क्रम बढेको हो ।
यसलाई निरुत्साहित गर्न विभागले पनि चासो देखाएको छैन । विदेशमा चेम्बर र नोटरी पब्लिकबाट जथाभावी प्रमाणीकरण भएर आएका मागपत्रलाई विभागले आँखा चिम्लिएर सदर गरिरहेको छ ।
यही कारण म्यानपावर व्यवसायीले लाखौं युवाहरुलाई अन्तरवार्ताको लाइनमा राखेर पैसा असुल्दै रित्तो हात फर्काइरहेका छन् । जबकी यस्तो शुल्क असुल्नु आफैंमा गैह्रकानुनी हो ।
फाइल तस्विर